==================================================नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाले आयोजन गर्ने नगरकोट महोत्सव सिंगो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउने त्रास थियो, अब सरकारले महोत्सव अगाडि नै छिटो भन्दा छिटो यो सडक स्तरोन्ती गरेर सम्पन्न गर्नुपर्छ, त्यसका लागि मन्त्रालयंग पनि समन्वय र छलफलमा बस्छौँ ।” उहाँले सरकारले पनि उक्त सडक निर्माणमा ढिलाई गरे चाँगुनारायण नगरपालिका आफैले बहुबर्षीइ आयोजना अन्तर्गत सडकको स्तरोन्तती सुरु गर्ने बताउनुभयो ।=======================================================
-रमेश गिरी
भक्तपुर, २६ पुस : भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्ष लाग्न लाग्दा पनि निर्माण सम्पन्न नभएर पटक पटक आन्दोलन गर्दै स्थानीयले पीडा भोग्नु परेको भक्तपुर नगरकोट सडक खण्डको ठेक्का सम्झौता अन्तत सरकारले रद्ध गरेको छ ।
पटक पटक म्याद थप र बारम्बार भएका सम्झौता उल्लंघन पछि भक्तपुर–नगरकोट–सिपाघाट सडक स्तरोन्नति परियोजनाको लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता अन्ततः सरकारले रद्द गरेको हो । सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने यसअघि पनि पटक पटक सूचना जारी गरेको थियो । त्यसक्रममा अन्तिम पटक भन्द म्याद थप हुदै आएको थियो ।
सरकारले आयोजनाका लागि अन्तिम पटक मंसीर मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नु पर्ने गरि १० आँैं पटक म्याद थप गरेपनि कम्पनीले कुनै प्रगति नगरेपछि गतसाता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्नु नपर्ने कारण सहित सात दिने स्पष्टीकरण माग गरेको थियो ।
निर्देशनालयका भक्तपुर नगरकोट सडक निर्माण आयोजना प्रमुख मेघराज मरासिनीले गत बुधबार सरकारको तर्फबाट ठेक्का सम्झौता रद्ध गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरकोट सडक खण्डको ठेक्मा सम्झौता रद्द भएको छ । अब निर्माण कम्पनीले सम्झौता अनुसारको गर्नुपर्ने काम कति बाँकी छ त्यसको अनुगमन एवं मूल्यांकन हुनेछ । त्यसपछि निर्माण कम्पनीसंग सोही मूल्यांकनको आधारमा जरिवाना लगाउने र सडकको बाँकी काम कसरी गर्ने भन्नेबारेमा छलफल गरेर अगाडि बढछ ।”
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडकको लागत बढेर भ्याटसहित ३१ करोड पुर्याउँदा पनि निर्माण कम्पनीले बिभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न गरेको थिएन । सडक निर्माण सम्पन्न नहुँदा चाँगुनाराण नगरपालिका, नगरकोटका होटल एवं पर्यटन व्यवसायी, स्थानीयवासीलगायतले निर्माण छिटो सम्पन्न गर्न माग गर्दै पटक पटक बिरोध गर्दै आएका थिए ।
यता निर्माण कम्पनी एससीसीपीएल र यसको भारतीय साझेदार एआईपीएलले बिहिबार बिज्ञप्ती जारी गदै भक्तपुर–नगरकोट–सिपाघाट सडक स्तरोन्नति परियोजनाको लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता रद्द गरेको जनाएको छ । कम्पनीले निर्देशनालयले गरेको बारम्बारका गल्तीहरू समाधान गर्न असफल भएको र गत २०८० असोज ९ गते प्रमाणित गरिएको आईपीसी–१४ भुक्तानी अहिलेसम्म नदिइएकोले परियोजनाको वित्तीय अवस्थामा गम्भीर असर पर्न गएकाले रद्द गर्नु परेको जनाएको छ ।
सडक निर्माणको ठेक्का सम्झौता रद्द भएपछि चाँगुनारायण नगरपालिका, स्थानीय व्यवसायी एवं स्थानीयवासी भने खुसी भएका छन् । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले शैलुङ कन्स्ट्रक्सनसमेतले सुरु गरेको नगरकोट सडक ११ वर्ष लाग्न लाग्दा समेत पुरा नगरेर स्थानीयवासी र यहाँका पर्यटन व्यवसायीलाई दुःख दिएको अबस्थामा ठेक्का सम्झौता रद्द भएसंगै अब थप काम गर्नबाटो खुलेको बताउनुभयो ।
नगरपालिकाले २०८२ बैशाखदेखि चैतसम्म एक वर्षे नगरकोट महोत्सव–२०८२ को आयोजना गर्ने घोषणा गरेर सडक निर्माण छिटो सम्पन्न गर्न पटक पटक बिभिन्न निकायमा दबाब दिएको र पटक पटक बिरोध एवं आन्दोलन गगर्दा पनि बेवास्ता गर्दा महोत्सवनै संकटमा पर्ने डर अब हटेको बताउनभयो । उहाँले नगरकोट महोत्सवलाई मध्यनजर गर्दै सरकारले यो सडकको स्तरोन्नती छिटो गर्नु पर्ने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाले आयोजन गर्ने नगरकोट महोत्सव सिंगो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउने त्रास थियो, अब सरकारले महोत्सव अगाडि नै छिटो भन्दा छिटो यो सडक स्तरोन्ती गरेर सम्पन्न गर्नुपर्छ, त्यसका लागि मन्त्रालयंग पनि समन्वय र छलफलमा बस्छौँ ।”
उहाँले सरकारले पनि उक्त सडक निर्माणमा ढिलाई गरे चाँगुनारायण नगरपालिका आफैले बहुबर्षीइ आयोजना अन्तर्गत सडकको स्तरोन्तती सुरु गर्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले सडक सम्झौता रद्द हुँदा खुसी हुनुपर्ने बेला आएको भन्दै नगरकोट महोत्सवर्ला सफल पार्न सरकारले नग।काट सडकको स्तरोन्नतीमा चासो दिनुपर्ने बतउनुभयो ।
यस्तो छ हाल भक्तपुर नगरकोट सडकको अबस्था :
भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो । अलि माथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु ।
त्यसमाथि नेपाली सेनाको व्यारेक क्षेत्र घुमाउनेमा बाटो नै खस्ने गरि चर्किएको सडक, नगरकोटसम्म कालोपत्र भत्किएर बनेका खाल्डोभरी जमेको पानी, कतै हिलाम्मे त कतै धुलाम्मे भक्तपुर नगरकोट सडक । १० वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटकपटक चर्चामा आइरहने ‘भक्तपुर–नगरकोट सडक खण्ड’को दृश्य हो यो । कमलविनायकदेखि नगरकोटसम्म देखिएको सडकको दुरावस्ता, ठाउँठाउँमा सडकको छेउँमा चर्किएर सडकनै पहिरोमा जाला भन्ने त्रास, सडक माथिबाट झरेका पहिरोले कतिखेर मानवीय क्षति हुने दुर्घटना निम्त्याउँला भन्ने अर्को त्रास ।
प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुदै आहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नु परेको सास्ती कम दर्दनाक छैन । सडक निर्माणकै क्रममा वास्तोला गाउँमा भएको दुर्घटनामा एक स्थानीयले मृत्युको पीडा मात्रै होइन वर्षामा ठूलो पानी पर्दा हिलाम्मे सडकबाट बगेको हिलोपानीको आहाल घरभित्र पस्दा खेप्नु परेको सास्ती, हिउँदमा धुलाम्मे सडकका कारण व्यहोर्नु परेको स्वास्थ्य समस्याको पीडा यहीँ सडक भएर ओहोरदोहोर गर्नेदेखि यहीँ सडक आसपासका बासिन्दाको दैनिकी कठिन भोगाई बनेको छ ।
भक्तपुरको भत्केकोपाटीदेखि नगरकोटसम्मको १५.६ किलोमिटर लामो उक्त सडकखण्डको काम नसकिएपछि गत चैतमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने १४ दिने सूचनासमेत जारी गरेको थियो ।
अनुगमनमाथि अनुगमन हुँदा पनि भएन सम्पन्नः
भक्तपुर नगरकोट सडक खण्डको प्रगतिबारे जान्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा राजनीतिक संयन्त्रका प्रतिनिधि, जनप्रतिनिधिसहितको टोलीले गरेको अनुगमनमा सडक निर्माणमा गुणस्तरहिन काम भएको निष्कर्ष निकालेको छ । त्यसो त यसअघि २०७९ फागुन १८ गते तत्कालिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उक्त सडकको अनुगमन पछि जनतासँग फागुन महिनाभित्र सम्पन्न नगरे कारबाही गरेर ठेक्का रद्ध गर्ने आश्वासन दिनु भएको थियो ।
त्यसअघि त्यसअघि २०७८ कात्तिक २८ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उक्त सडकको अनुगमन गरि स्थानीयसंग दुई महिनाभित्रमा निर्माण सम्पन्न नभए ठेक्का रद्द गरेर कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । श्रेष्ठ र यादवले अनुगमन गर्दा स्थानीयले सडकमै सुतेर र सडकमै घेराबन्दी गरेर अबरोध गरेका थिए । त्यसअघि २०७६ साल साउन १३ गते तत्कालिन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरि सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न निर्देशन दिएको थियो ।
२०७६ साल मंसीर ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वको टोलीले, त्यसपछि तत्कालिन भौतिक योजना मन्त्री बसन्त नेम्वाङले, तत्कालिन मन्त्री एवं सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका तत्कालिन प्रमुख सोमप्रसाद मिश्रसहितको टोलीले, वर्तमान् नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीसहितको टोलीले पटकपटक यस सडकको अनुगमन गर्दै छिटो निर्माण सम्पन्न गराउन दबाब दिदै आउनु भएको थियो ।
तीन प्रधानमन्त्रीको निर्देशन पनि निर्माण कम्पनीले गरेन कार्यान्वयन :
सडक निर्माण सुरु भएपछि चाँगुनारायण नगरपालिकाका तत्कालिन नगर प्रमुख सोम मिश्रदेखि वर्तमान् नगर प्रमुख जीवन खत्रीसम्मको नेतृत्वमा गएको टोलीले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि सडक छिटो निर्माण सम्पन्न गराउन माग गरेको थियो ।
तत्कालिन नगर प्रमुख मिश्र भन्नुहुन्छ “सरकार परिवर्तन हुने बित्तिकै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर ज्ञापन पत्र दिने र छिटो निर्माण सम्पन्न गराईदिन माग गर्दै दबाब दिदाँ पनि खै हो, नतिजा निस्किन नसक्दा, यस्ता ठेकेदार सरकार भन्दा बलिया हुँदा रैछन् जस्तो लाग्यो ।”
त्यसो त २०७८ मा वागमति प्रदेशका तत्कालिन भौतिक योजना मन्त्री कृष्णलाल भँडेल, माओवादी केन्द्रका केन्द्रीय नेता डि.पी. ढकालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग तत्कालिन नेकपा भक्तपुरले तत्कालिन भौतिक योजना मन्त्री वसन्त नेम्वाङसँग, नगरपालिकाका वर्तमान् प्रमुख खत्री, माओवादी केन्द्रका नेताहरुसहितको माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटेर आश्वासन सबैबाट पाएपनि तिब्रगतिमा काम भने भएन ।
स्थानीयले सडक अबरुद्ध गर्ने, ठेकेदार शारदाप्रसाद अधिकारीको तस्विर बादरसँग जोडेर पोष्टर सार्वजनिक सवारी साधन र सडकको भित्ता भित्तामा टाँस्ने, चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ का वडाध्यक्षले २०७९ असार १७, देखि १९ गतेसम्म सडकमै कार्यालय सञ्चालन गर्ने, नगरकोटका पर्यटन व्यवसायीले सडक अबरुद्ध गर्दै आएका थिए ।