२७ पुष,काठमाडौँ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् । शनिवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए ।
उनले यसका असरहरू आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा देखिँदै आएको बताए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयासहरू गर्नुपर्ने बताए । जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको उनले उल्लेख गरे ।
नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै पौडेलले आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतीलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताए ।