भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको सातौँं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उद्घाटन गर्नु भएको कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा निजी क्षेत्र सहितको सहभागितामा सरकारले उच्चस्तरीय आर्थिक आयोग गठन गरिनु प्रशंसनिय कार्य भएको चर्चा गर्दै उहाँले उद्यारो असुली ऐन कार्यान्वनको शिघ्र प्रतिक्षा रहेको बताउनु भयो ।
त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले भक्तपुरको मौलिक हस्तकलाका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नमा चेम्बरले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । साथै उहांले सार्वजनिक निजी साझेदारीको माध्यमबाट निर्यातमा बल पुग्ने खालका उद्योगहरु स्थापना गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मुलुकको विषम परिस्थितिहरुमा समेत उद्यमी व्यवसायीलाई हतोत्साही हुन नदिई व्यवसायमा टिकाईराख्न व्यवसायिक संघसंस्थाहरुले खेल्दै आएको भूमिका प्रशंसनिय रहेको बताउनु भयो । उहांले आर्थिक क्षेत्रका कुनै पनि समस्याहरु आपसी सम्वाद र सहकार्यबाट समाधान गर्न सकिने पनि बताउनु भयो ।
समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योले नेपाल भरिका जिल्ला नगर चेम्बरहरुमा भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनु भयो । समारोहकै अवसरमा उहांलाई नेपाल जग्गा तथा आवास विकास महासंघमा महासचिव पदमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन सहित सम्मान पनि गरिएको थियो ।
संस्थाका अध्यक्ष कविदास श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारण सभामा संस्थाका उपाध्यक्ष जगतबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसै गरी बन्द सत्रमा संस्थाका महासचिव ज्ञानेन्द्र मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष सुरेन्द्र जाकिबन्जारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजु मान बज्राचार्य जानकारी दिनुभयो ।