काठमाडौँ,४ माघ।
विपक्षी दलहरूले संसद बैठक बोलाउन सरकारलाई आह्वान गरेको छ । तत्काल संसद बैठक नबोलाइए विशेष अधिवेशन बोलाउने प्रक्रियाको थालनी गर्न बाध्य हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।
‘संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्ता समेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरु अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति प्रदर्शन गरेको छ भन्ने हाम्रो ठहर छ,’ विपक्षी दलहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीले हस्ताक्षर गरेका छन् । वक्तव्यमा हस्ताक्षर नगरे पनि नागरिक उन्मुक्ति पार्टीले पनि सहमति जनाएको प्रचण्डले जानकारी दिए ।