=========================================================
नगर प्रमुख थापाले भन्नुभयो, “नयाँ नगरपालिका नयाँ मेयर भएर मैले नगरपालिकामा पद बाहाली गर्दा भाडाका दुईवटा कोठा र सरकारी दुई जना दरबन्दीसहितको कर्मचारीबाट सेवा सुरु गरेका थियौ, मेरो पहिलो कार्यकालमा सुरु भएको नयाँ भवन दोश्रो कार्यकालमा सम्पन्न भएको छ, हामीले सुविधा सम्पन्न भवन बनाएका छौँ, आजबाट नयाँ भवनबाट सेवा प्रवाह भएको छ ।”
=========================================================
भक्तपुर, १५ माघ : सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ भवनमा प्रशासनीक कार्यालय सञ्चालन गरेको छ ।
टंकप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरमा प्रशासनीक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आजदेखि आफ्नै सुबिधा सम्पन्न नयाँ भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एव वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले हिजो नयँ भवनको उद्घाटन गर्नुभयो, आजबाट नयाँ भवनबाट महत्वपूर्ण कामहरु सुरु गरिसकेका छौँ । नगर प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरु नयाँ भवनमा सारेर सेवा सुरु भएको छ । भाली र पर्सीको सार्वजनिक बिदामा सबै शाखाहरु पनि सारेर नियमित कार्यहरु सबै नयाँ भवनबाटै सञ्चालन हुन्छ ।”
नगरवासीलाई नयाँ भवनबाट सेवा प्रवाह सुरु भइसकेको भन्दै उहाँले नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठ जना क्षमता रहेको दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा पहिलो पटक नगर प्रमुखको पदबाहाली गर्दा दई वटा कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिए सुरु गरेको नगरपालिककाले आज आफ्नै सुबिधा सम्पन्न भवनबाट सेवा सुरु गरेको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “नयाँ नगरपालिका नयाँ मेयर भएर मैले नगरपालिकामा पद बाहाली गर्दा भाडाका दुईवटा कोठा र सरकारी दुई जना दरबन्दीसहितको कर्मचारीबाट सेवा सुरु गरेका थियौ, मेरो पहिलो कार्यकालमा सुरु भएको नयाँ भवन दोश्रो कार्यकालमा सम्पन्न भएको छ, हामीले सुविधा सम्पन्न भवन बनाएका छौँ, आजबाट नयाँ भवनबाट सेवा प्रवाह भएको छ ।”
उहाँले पहिलो र दोश्रो कार्यकालमा सबै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोगले नगरपालिकाले २ देखि १० सम्मका वडा कार्यालय भवन निर्माण गरेको र बाँकी १ नं. वडाको भवन निर्माणको चरणमा रहेको बताउनुभयो । नगरपालिकाको २० करोड ४१ लाख ५२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको नयाँ भवन ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको र कार्यालय भवन मात्रै ३ रोपनी एक आना क्षेत्रफलमा निर्माण भएको बताउनुभयो ।
मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्दै आएको नगरपालिकाले संघीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाखको लागत र बाँकी नगरपालिकाको आफ्नै लगानीबाट भवन निर्माण गरेको बताउनुभयो । नगरपालिकाले आगामी ०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको बताउनुभयो ।