२१ माघ, काठमाडौं ।
आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथिको चरम श्रम शोषणका विरुद्ध अन्तिम चेतावनीसहित विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । नेपालका विभिन्न मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्टहरूको हकहितका लागि आवाज उठाउँदै आन्दोलन गर्दै आएको समितिले देशभरका डाक्टरहरूलाई माइतीघर मण्डलामा आएर आन्दोलनमा सहभागी हुन अनुरोध गरेको हो ।
समितिका प्रवक्ता डाक्टर सञ्जय बरालले छैटाै दिनसम्म आन्दोलन गर्दा समेत राज्य मौन बसेको भन्दै काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरिएको बताए । देशैभरिका सम्पूर्ण इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनमा बोलाएको हो ।
माग पुरा नहुँदासम्म सेतो कोटमा माइतीघर मण्डलामा उपस्थित हुन लागिएको प्रवक्ता बरालले बताए । उक्त आन्दोलनमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी, चिकित्सक तथा चिकित्सकका अधिकार स्थापित गर्न स्थापना भएका सङ्घ सङ्गठनहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।
समितिको नेतृत्वमा काठमाडौँमा माइतीघर मण्डलामा धर्ना दिनुका साथै आफू कार्यरत मेडिकल कलेजमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले ओपीडी सेवा बहिस्कार गर्नुका साथै पेन डाउन गर्दै विरोध गर्दै आएका छन् ।