भक्तपुर, ८ फागुन : स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलो पटक सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याउने भएको छ । चन्द्र शमशेर राणाले स्थापना गरेको भक्तपुर अस्पतालमा सञ्चालनका लागि वागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेशन भक्तपुर अस्पताल आइपुगेको छ । मेशिन भक्तपुर अस्पताल आएसंगै वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले उक्त मेशिन जडान कार्यको अवलोकन गर्नुभयो ।

स्वास्थ्य मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेशिन जडान कार्य छिटोभन्दा छिटो सम्पन्न गरेर सेवा सञ्चालन गर्न आज अस्पताललाई निर्देशन दिनुभयो । उहाँले सेवा विस्तारका लागि समेत आवश्यक सहजिकरण गरिदिने बताउदै कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरि काम गर्न अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिनुभयो ।

मन्त्री थापा र प्रदेशसभा सदस्य श्रेष्ठले अस्पतालका बिभिन्न शाखा एवं सेवाहरुको अनुगमन गर्नुभयो । उहाँले अस्पतालमा भर्ना भएका विरामीहरुसंग भेट गरि अस्पतालको सेवाकोबारेमा जानकारी लिनु भयो । अस्पतालका लागि वागमति प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बोलपत्र आव्हान गरि आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेशिन खरिद गरेर अस्पताल ल्याई पुर्याएको मन्त्री थापाले जानकारी दिनुभयोे ।

मन्त्री थापाले भन्नुभयो, “भक्तपुर अस्पतालमा वागमति प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पहिलो पटक सिटी स्क्यान मेशिन अस्पतालमा ल्याएको छ । यसै महिना यो सञ्चालनमा आउँछ । साथै यस अस्पतालका लागि एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन ल्याउन टेण्डर गरिसकेका छौँ, यो मेशन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुन्छ र विरामीले अन्य अस्पतालमा धाउनु पर्दैन । दुवै मेशिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यबस्थापन गर्छ ।”

कोरोना महामारीमा अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेन्ट एवं हाल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि अस्पताल देशकै उत्कृष्ठ अस्पताल घोषणा हुन सफल भएको थियो । उहाँकै पालामा अस्पतालमा सिटी स्क्यान ल्याउन तत्कलिन मुख्यमन्त्री शालिकराम जमरकट्टेल र उहाँका राजनीतिक सल्लाहकार डिपी ढकाल, स्वास्थ्य मन्त्रीसंग पहल गर्नु भएको थयो भने उहाँनै स्वास्थ्य मन्त्रालयका सचिव हुँदा यो उपकरण अस्पताल आइपुगेको छ ।

भक्तपुर अस्पतालमा सञ्चालनमा आउन लागेको सिटी स्क्यान मेशिन १० वर्षसम्म कुनै समस्या नआउने र समस्या आईहाले तत्काल कम्पनीले मर्मत गर्ने उहाँले बताउनुभयो । मन्त्रालयका सचिव डा. गौतमले भन्नुभयो, ‘सिटी स्क्यान मेशिन दिने कम्पनीलेनै अबको १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या नआउने गरि ग्यारेन्टी गर्दै सम्झौता गरेको छ, मेशिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरि व्यबस्था गरेको छ, कम्तीमा १० वर्षसम्म यो मेशिन ढुक्कसंग सञ्चालन हुन्छ ।’

सचिव डा. गौतम अस्पतालमा हुँदा नै मिर्गौलाका विरामीका लागि सहज सेवा दिन १० शय्याको डायलोसिस वार्ड तयार पार्नु भएको थियो । अस्पतालको आकस्मिक कक्षसंगै रहेको भवनमा १० शय्याको डायलोसिस कक्ष तयार पारेको बताउदै उहाँले प्रदेश र केन्द्रीय स्वास्थ्य मन्त्रालयले डायलोसिस मेशिन दिएलगत्तै यो सेवा पनि सञ्चालन ल्याउने बताउनुभयो । डायलोसिस मेशिन सञ्चालनमा ल्यान पाए दैनिक कम्तीमा १०० विरामीलाई सेवा दिन सकिने सचिव डा. गौतमले बताउनभयो ।
अस्पतालका कार्यकारी निर्देशक भट्टले सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याउनकै लागि एकतले भवन निर्माण गरिसकेको बताउनुभयो । उपकरण जडान गरेर यसै महिनादेखि मेशिन सञ्चालनमा ल्याउने बताउदै उहाँले अब बिरामीले सिटी स्क्यान गर्न अन्य निजी अस्पतालमा मंहगो शुल्क तिरेर जानु नपर्ने बताउनुभयो ।