काठमाडौं,८ फागुन ।
भारतीय जनता पार्टीकी सांसद रेखा गुप्ताले केन्द्रीय राजधानी दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएकी छन्।
दिल्लीको राम लीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य नेताहरू उपस्थित थिए। मुख्यमन्त्री गुप्तालाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले पद तथा गोपनीयताको शपथ खुवाएका भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाकी उपाध्यक्ष पनि हुन्। गुप्ताका साथै प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकजकुमार सिंहले मन्त्री पदको शपथ लिएका छन्।
२७ वर्षपछि सत्तामा फर्किएको भाजपाले कुल ७० सिटमध्ये ४८ सिट जितेको छ। बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।