भक्तपुर, ८ फागुन : आफ्ना नगरवासीलई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाले ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा गर्भवति महिला र ‘क’ वर्गका अशक्तहरुका लागि आज नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिका–६ पाटीबिहारबाट निःशुल्क घरदैलो स्वास्थ्य सेवाको शुभारम्भ गर्नुभएको हो ।

नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका मेडिकल अधिकृतको संयोजकत्वमा चिकित्सक, नर्स, ल्याब असिस्टेण्डसहितको आवश्यक स्वास्थ्यकर्मीसहितको जनशक्ति प्रत्येक दिन वडावडामा पुगेर सेवा दिन आजबाट सुरु भएको हो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा हाल दैनिक एक हजारको हाराहारीमा सेवाग्राही आइरहेको अवस्थामा ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुलाई अस्पतालमा आएर घण्टौ लाइन बस्न नपरोस भनेर यो सेवा शुभारम्भ गरेको बतउनुभयो । अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले प्रत्येक वडामा महिनाको दुई पटकका दरले वडा वडामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र घरबाहिर सवा लिन जान नसक्ने अशक्त एवं जेष्ठ नागरिकलाई घरदैलोमै गएर स्वास्थ्य सेवा उपलब्ध गराईने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगका बिरामीहरु अब अस्पतालसम्म धाउनु नपर्ने र आफ्नै वडामा महिनामा दुई पटक स्वास्थ्य जाँच गराएर औषधि लिन सक्ने गरि अभियान सुरु गरेको बताउनुभयो । यो अभियानबाट गम्भिर रोग लाग्नु अगावै रोगको पहिचान गर्न मद्दत पुग्ने र समयमै उपचारमा टेवा पग्ने उहाँले बताउनुभयो ।

नेपाल–कोरिया मैत्री नगर अस्पतालका प्रमुख डा. दीपेन्द्रकुमार रौशनले नगरवासीलाई अब सहज स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने बताउदै ज्येष्ठ नागरिक, अशक्त, गर्भवति महिलालाई वडा वडा र घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदा सबैलाई स्वास्थ्यको पहुँचमा पु¥याउन सकिने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकामा १० हजार ३५ जना ६० वर्ष उमेरमाथिको जनसंख्या रहेको स्वास्थ्य शाखा संयोजक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य बिमा नगरेका सो उमेर समूहका ज्येष्ठ नागरिक र महिला स्वास्थ्यअन्तर्गत गर्भवती महिलाको नगरपालिकाले निःशुल्क बिमा गरिदिने उहाँले बताउनुभयो ।

यो अभियानमा सम्पूर्ण ल्याब सेवा, बिमामा पर्ने सम्पूर्ण उपलब्ध औषधि, आवश्यकता अनुसार (अल्ट्रासाउण्ड) भिडियो एक्सरे सेवा, आवश्यकता अनुसार विशेषज्ञ सेवा नागरिकले आफ्नै वडामा पाउने उहाँले बताउनुभयो ।
