काठमाडौँ,२८ फागुन।
बैंकिङ क्षेत्रले पछिल्लो एक महिनामा मात्रै ९ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीले उक्त परिमाणमा नाफा कमाएका हुन् ।
पुस मसान्तसम्म २८ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूको नाफा यो सँगै ३७ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो । वाणिज्य बैंकहरूले नाफा कमाउँदा विकास बैंकहरूले २ अर्ब ४९ करोड र फाइनान्स कम्पनीहरूले ६ करोड ५६ लाख रुपैयाँ नोक्सान बेहोरेको राष्ट्र बैंकको तथ्यांक छ ।
अघिल्लो महिनासम्म वाणिज्य बैंकको नाफा २७ अर्ब ४३ करोड, विकास बैंकको १ अर्ब ८५ करोड हुँदा वित्त कम्पनीहरू ७ अर्ब ७ करोड रुपैयाँ नोक्सानीमा थिए ।माघ महिनामात्रको अवस्था हेर्दा वाणिज्य बैंक ८ अर्ब २३ करोड, विकास बैंक ६४ करोड ४४ लाख नाफा र वित्त कम्पनी ५१ लाख रुपैयाँ नोक्सानमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
कुन कम्पनीको कस्तो अवस्था ?
माघ महिनामा २० वाणिज्य बैंकमध्ये १८ वटा बैंक नाफामा हुँदा बाँकी २ बैंक नोक्सानमा छन् । यसमध्ये नेपाल बैंकको नाफा यो महिनामा १ अर्ब ९९ करोड रुपैयाँले बढेको छ । त्यस्तै, ग्लोबल बैंकले ८३ करोड ७० लाख, नबिल बैंकले ७६ करोड ६८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६० करोड ७३ लाख, एभरेष्ट बैंकले ४९ करोड ९० लाख, प्रभु बैंकले ४९ करोड ८५ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४७ करोड ५६ लाख, कुमारी बैंकले ४६ करोड २९ लाख तथा लक्ष्मी बैंकले ४२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, एनएमबी बैंकको ३४ करोड १३ लाख, सिद्धार्थ बैंकको ३२ करोड ४९ लाख, एआईसी एशियाको ३१ करोड ३० लाख, प्राइम कमर्सियल बैंकको ३१ करोड २४ लाख, सिटिजन्स बैंकको २४ करोड ८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९ करोड ७९ लाख, सानिमा बैंकको १७ करोड ९६ लाख तथा माछापुच्छ्रे बैंकको १६ करोड ८ लाख रुपैयाँ नाफा छ ।