भक्तपुर, १ चैत ः नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको नगरकोटबाट काठमाण्डौं सिधा सार्वजनिक बस सेवा आजबाट सुरु भएको छ । नगरकोटमा आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगकोटबाट काठमाण्डौं बस सेवाको शुभारम्भ गर्नु भएको हो । नगरकोट भ्रमण वर्ष–२०८२ सुरु हुनभन्दा एक महिना अगाडि भक्तपुरको उत्तरपूर्वी यातायात प्रा.ली र ख्वप भक्तपुर मिनिबस यातायात प्रा.ली.को संयुक्त सहकार्यमा काठमाडौं रत्नपार्क नगरकोट बस सेवा सुरु भएको हो ।
बस सेवाको उद्घाटन गर्दै नगर प्रमुख जीवन खत्रीले नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गर्न प्रयासले सार्थकता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी बैशाख १ गतेदेखि हामीले नगरकोट भ्रमण वर्ष सुरु गर्दैछौँ, त्यसैको एक महिना अगाडि नगरकोटबाट काठमाण्डौंसम्म जाने सिधा बस सेवा सुरु गरेका छौँ, यो सेवाले अब काठमाडौंबाट नगरकोट आउन जान निकै सहज हुने भएको छ ।”
उहाँले यसअघि पनि आफूले नगरकोटबाट सिधै काठमाडौैसम्म बस सेवा सञ्चालनका लागि पहल गरिहहेको भएपनि सञ्चालनमा ढिलाई भइरहेको अबस्थामा नगरकोट भ्रमण वर्षसमेत सफल पार्ने गरि अहिले सिधै बस सेवा सुरु गरेको बताउनुभयो ।
अहिलेसम्म नगरकोट जान आउन काठमाडौंबाट कमलविनायकसम्म एउटा बस र कमलविनायकबाट नगरकोट जाने अर्को बस गरि दुईवटा बसमा यात्रा गर्नु पर्ने बाध्यता थियो । त्यो बाध्यता अब हटेको छ । सिधै बस सेवाबाट यात्रा गर्दा यात्रा छिटो, सहज र सस्तो हुने बताउदै नगरप्रमुख खत्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले करिब २२ वर्ष अगाडि नगरकोटबाट काठमाडौ सिधै बस सेवा सञ्चालन भएपनि त्यसले निरन्तरता नपाएको बताउदै अबभने यो सेवाले निरन्तरता पाउने बताउनुभयो । नगरकोटबाट काठमाडौंसम्म सिधै ६ वटा बस प्रत्येक एक घण्टामा छुट्ने बताउदै उहाँले भ्रमण वर्षमा आवश्यकता अनुसार बस थप गरेर अझै छिटो सेवा प्रवाह गर्न सकिने बताउनुभयो ।
अब काठमाडौंबाट नगरकोटसम्म सिधै बस सेवा रुरउटा रुट र अर्को कमलविनायकबाट नगरकोटसम्म अर्को रुटमा गरि बस सेवा सञ्चालन हुनेछ । यसले यात्रुहरुलाई निकै सहज हुने उहाँले बताउनुभयो । नगरकोटबाट काठमाडौं जाने बसलाई काठमाडौं महानगरपालिकाले बस पार्कको सुबिधा दिने सहमति भएको छ । बस व्यवसायीहरुले आवश्इकताका आधारमा नगरकोट काठमाडौं बस सेवा बिस्तार गर्न सकिने बताएका छन् ।