१८ चैत, काठमाडौं ।
बागमती प्रदेश सरकारले नयाँ वर्ष २०८२ मा ४ दिन सार्वजनिक बिदा थप्ने भएको छ । बागमती प्रदेशको सोमबार अपरान्ह मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको हो ।
प्रदेश सरकारका प्रवक्ता एव्म आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो ।प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन दिन बिदा दिने निर्णय भएको हो ।
विगतमा प्रदेश सरकारले विभिन्न पर्व र अवसरमा ६ दिन मन्त्रिपरिषद बैठकले निर्णय गरी बिदा दिने गरिएको थियो ।