काठमाडौं,१९ चैत ।
खाने तेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ। चार महिनाको बिचमा नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो।
नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ बढेको छ। गएको पुसमा प्रतिलिटर ३७० रुपैयाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपैयाँ बढेर प्रतिलिटरको ४१० रुपैयाँ खुद्रा मूल्यमा किनबेच भएको संघले जनाएको छ । संघका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपैयाँमा पाइनेमा १५ बढेर प्रतिलिटर ३२५ रुपैयाँमा कारोबार भएको छ।
उद्योगीले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन्। संघका महासचिव अमुलकाजी तुलाधरले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताए।
भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल भारत निर्यात गरेको छ ।