काठमाडौं,१९ चैत।
त्रिभुवन विश्वविद्यालयका त्रिविका १८ वटा आङ्गिक क्याम्पसमा भोेलिसम्म निर्वाचन गर्न नसके दुई वर्षका लागि स्वतन्त्र विद्यार्थी युनियन खारेज हुने भएको छ।
भोलिसम्म निर्वाचन गर्न नसकेमा ती क्याम्पसमा अर्को पटक अर्थात् दुई वर्षपछि मात्रै निर्वाचन हुने छ। किनकि त्रिविको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ ले पहिलो पटक तोकिएको मितिमा निर्वाचन हुन नसकेको १५ दिनभित्रमा निर्वाचन सम्पन्न गर्नै पर्ने व्यवस्था गरेको छ।
त्रिविले पहिलो पटक चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको थियो। नयाँ व्यवस्था अनुसार अब बाँकी रहेका क्याम्पसमा भोलिसम्म निर्वाचन गर्नैपर्नेछ। यसअघि पहिलो पटक तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन नसकेमा ३० दिनभित्र गर्न सकिने व्यवस्था थियो। पुरानो उक्त व्यवस्थालाई संशोधन गरेर २०८१ को निर्देशिकाले नयाँ व्यवस्था गरेको हो।
४४ वटा आङ्गिक क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेको छ। आङ्गिकमध्येकै चर्चित क्याम्पसमा पर्ने रत्नराज्यलक्ष्मी, नेपाल ल, विश्वभाषा, सरस्वती, पाटन संयुक्तसहित १७ क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेको छैन। त्रिचन्द्रमा भने आज निर्वाचन भइरहेको छ।