काठमाडौं,२० चैत।
मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान गरेको छ । गएको शुक्रवार आएको भूकम्पका कारण भएको व्यापक जनधनको क्षतिपछि नेपाल सरकारको निर्णय बमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको हो ।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टोली, चार जना बन्दोबस्ती सहायता टोली, ६ जना चालक दलका सदस्यसहित सेनाको सीएन–२३५ कासा विमानमार्फत म्यानमार प्रस्थान गरेको छ ।
विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् उपकरणसहित टोलीमा सर्जन, अर्थाेपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन् । यो टोलीले झन्डै एक हप्ता भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।म्यानमारको राजधानी नापिडो आसपास केन्द्रविन्दु बनाई गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म दुई हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यस्तै भूकम्पबाट तीन हजार जनाभन्दा धेरै घाइते भएका छन् ।