काठमाण्डौ,२१ चैत।
निर्वाचन आयोगले नौ राजनीतिक दललाई यथाशीघ्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । करिब एक वर्षअघि दिइएको निर्देशन पालना नभएको भन्दै आयोगले नौ दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको हो ।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार कानुनले व्यवस्था गरेविपरीत नाम रहेका १९ दलको नाम परिवर्तन गर्नुपर्नेमा ११ दलले अझै नाम परिवर्तन गरेका छैनन् । नेपालको संविधान–२०७२ को धारा २६९ ले राजनीतिक दलसम्बन्धी व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेमा त्यस्तो दल दर्ता हुने छैन ।
आयोगले दर्ता भइसकेका त्यस्ता दलको नाम परिवर्तन गर्न २०८० फागुन ३ गते निर्देशन दिएको थियो । सो निर्णय कार्यान्वयन नभएको भन्दै आयोगले चुरे भावर लोकतान्त्रिक पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राष्ट्रवादी युवा मोर्चा, शिव सेना नेपाल, मधेश तराई फोरम र अखण्ड सुदूरपश्चिम पार्टीलाई यथाशीघ्र नाम परिवर्तन गर्न निर्देशन दिएको हो । त्यसै गरी मधेशी जनअधिकार फोरम मधेश, खम्बुवान राष्ट्रिय मोर्चाले समेत नाम परिवर्तन गर्नुपर्ने छ ।