काठमाण्डौ,२१ चैत।
हिजोदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन शुरू गरेका शिक्षकहरूले आज पनि प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरू बाँसुरी र मादल बजाउँदै तथा आफ्ना मागबारेमा नारा लगाउँदै नयाँ बानेश्वरतर्फ गएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षकहरूले माग सुनुवाइ नभएको भन्दै काठमाण्डाै केन्द्रित भएर सडक प्रदर्शन गरेका हुन् । शिक्षकहरूको प्रदर्शन कारण बानेश्वर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
यसैबीच,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो।
मन्त्रालयले शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा रहेकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही समयदेखि ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ।
‘विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रकृयाका सम्बन्धमा निश्चित कानुनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छ। तथापि, शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,’विज्ञप्तिमा उल्लेख छ।