२२ चैत,काठमाडौँ ।
संसदीय समितिले काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।
समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरूले गरेको विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए ।
चैत्र १५ गतेको घटनाको सत्य तथ्य छानबिन गरी प्रत्यक्ष, अप्रत्यक्ष रूपमा त्यसमा संलग्न हुने व्यक्तिहरूलाई आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।