विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले उनीहरुलाई वार्तामा आउन फेरि आह्वान गरेको छ।
शुक्रवार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु सहभागी भएनन्।
कावा प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधि नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन्।
उनले शिक्षकहरुले विद्यालय शिक्षा विधेयक छिटो ल्याउन सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेका र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरु नआएको बताइन्।
उनले सरकार शिक्षा ऐन ल्याउनका लागि लचिलो रहेको भन्दै वार्तामा सहभागी हुन शिक्षकहरुलाई आह्वान गरिन्। रकारले शिक्षकका मागहरुलाई दृढताका साथ सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाइन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन्। बिहीवार साँझ पनि सरकारसँग शिक्षकहरुको वार्ता भएको थियो।
शुक्रवार ३ बजे बस्नेगरी स्थगित भएको बिहीवारको बैठक आज भने बस्न सकेन। सरकारले शिक्षकहरुका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै फेरि बैठकका लागि आह्वान गरेको छ।