=======================================================
नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरकोट जाने सडक बिग्रिएको छ भनेर अल्झिने वा अलमलिने नगरौँ, हामी भक्तपुर नगरकोट सडक सुधार गर्दैछौँ, साथै नगरकोट आउने भक्तपर, काठमाडौ र काभ्रेका अरु नाकाबाट पनि पर्यटक ल्यउन सकिने सडकहरु छन्, सबै पालिकाले आफ्ना नगरपालिका क्षेत्रबाट नगरकोट पर्यटक भित्रयाउने काम गर्नेछौँ । नगरकोट केन्द्रबिन्दु बनाएर १२ महिनामा मुख्य १२ वटा पर्यटक लक्षित कार्यक्रम हुनेछ, साथै अरु समयमा आ–आफ्नो नगरपालिका क्षेत्रमा पर्यटकीय गन्तव्य बनाएर कार्यक्रम गर्नेछौँ, ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान गर्नेछौँ ।” नगरकोट भ्रमण वर्षले तीन जिल्ला र चार नगरपालिकालाई सम्बृद्ध बनाउने उहाँले गर्नुभयो ।
=========================================================
भक्तपुर, २३ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न तीन जिल्ला र चार नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंकरापुर नगरपालिकाले नगरकोटमा आज संयुक्त रुपमा आयोजना गरेको भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकका तीन जिल्ला समन्वय समिति र नगरपालिकाहरुको प्रमुख एवं प्रतिनिधिहरुबीच भएको भ्रमण वर्षबारे छलफल कार्यक्रममा सहभागि प्रमुखहरुले भ्रमण वर्षलाई एक वर्षभरिनै भव्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाकाका प्रतिनिधि एवं सांसद राजु विष्टले नगरकोट भ्रमण वर्षले नगरकोटसंग जोडिएको तीन जिल्ला र चार नगरपालिकाको पर्यटन बिकासमा ठूलो टेवा पुर्याउने बताउनुभयो । उहाँले बौद्ध जोरपाटीबाट शंकरापुर, नगरकोट हुदै धुलिखेलसम्म जाने सडक, नगरकोटबाट कात्तिके बजार जाने सडक मार्गबाट आन्तरिक पर्यटकको विकासमा यसले टेवा पुर्याउने बताउनुभयो । शंखरापुर नगरपालिकाले भ्रमण वर्ष सफल पार्न समान साझेदारीसंगै बिभिन्न कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रममा वागमपति प्रदेश सभाका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य कञ्चन वादे श्रेष्ठले नगरकोट मात्रै नभई चारवटै पालिकाकाको पर्यटन बिकास गर्न नगरकोट आवतजावत गर्ने ११ वटा नाका एवं सडकको प्रचार गर्नु पर्ने बताउनुभयो । नगरकोट आउने पर्यटकको यात्रा र बसाई लम्ब्याउन बिभिन्न नयाँ कार्यक्रमसंगै नगरकोट धुलिखेल साईकल मार्ग सञ्चालनमा ल्याउनु पर्ने औल्याउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुखहरुको तर्फबाट दीपक कुमार गौतमले विश्वमा नगरकोटको नामबाट चिनिने नगरकोट भ्रमण वर्ष सफल भएमात्रै नेपाल भ्रमण हुने बताउदै नगरकोटमा आएका सडकदेखि बिभिन्न चुनौतीहरुलाई चिर्दै भ्रमण वर्ष सफल पार्न तीन वटै जिल्ला समन्वय समितिले भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरुको तर्फबाट भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सामान्य परिवारदेखि मध्यम वर्गीय परिवारसम्म नगरकोट आएर बस्न सक्ने गरि प्याकेज सर्वजनिक गर्नुपर्ने भन्दै सरकारका तीन वटै सरकारसंग समन्वय गर्दै भ्रमण वर्ष अगाडि बढाउनु पर्ने उहाँले बताउनुभयो ।
नगरकोट आएर एक रात बस्छु भन्ने जोकोही नेपालीले सहजै बस्न र खान सक्ने गरि प्याकेज ल्याउन सकेमात्रै भ्रमण वर्षमा निम्न, मध्यम र उच्च वर्गका व्यक्तिहरुको पारिवारिक भ्रमण राख्न सकिने उहाँले बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्ष सफल पार्न तीनवटै जिल्लाका प्रमुखहरुले सुरक्षा व्यबस्थादेखि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आउँदो बैशाख १ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरि ३ गतेसम्म नगरकोटमा भव्य रुपमा भ्रमण वर्षका बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताउनुभयो । नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर आयोजना हुने नगरकोट भ्रमण वर्षले चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर र बनेपा नगरपालिकाको सम्बृद्धिको यात्रालाई जोडेर लैजाने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरकोट जाने सडक बिग्रिएको छ भनेर अल्झिने वा अलमलिने नगरौँ, हामी भक्तपुर नगरकोट सडक सुधार गर्दैछौँ, साथै नगरकोट आउने भक्तपर, काठमाडौ र काभ्रेका अरु नाकाबाट पनि पर्यटक ल्यउन सकिने सडकहरु छन्, सबै पालिकाले आफ्ना नगरपालिका क्षेत्रबाट नगरकोट पर्यटक भित्रयाउने काम गर्नेछौँ । नगरकोट केन्द्रबिन्दु बनाएर १२ महिनामा मुख्य १२ वटा पर्यटक लक्षित कार्यक्रम हुनेछ, साथै अरु समयमा आ–आफ्नो नगरपालिका क्षेत्रमा पर्यटकीय गन्तव्य बनाएर कार्यक्रम गर्नेछौँ, ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान गर्नेछौँ ।” नगरकोट भ्रमण वर्षले तीन जिल्ला र चार नगरपालिकालाई सम्बृद्ध बनाउने उहाँले गर्नुभयो ।
उहाँले भ्रमण वर्ष लक्षित गरेर प्रदेश र संघीय सरकारसंगको सहकार्यमा पूर्वाधार विकासको कामलाई अगाडि लैजाने, आ.ब. ०८३÷०८४ मा अझै धेरै संख्यामा पर्यटक भित्रयाउने, एक दिन हैन, पाँच दिन बस्ने पर्यटकको बसाई लम्ब्याउने गरि दीर्घकालिन विकासका कार्य र गन्तव्य पहिल्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरकोटलाई स्वदेशी तथा विदेशी पर्यटकको प्रस्थान बिन्दु बनाएर भ्रमण वर्षको आयोजना गरेका छौँ, विश्व सम्पदामा रहेको चाँगुनारायणदेखि नगरकोटसम्म र ताथलीसम्म वडा नं. १ देखि ९ सम्मका प्रत्येक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, त्यहाँका सम्पदालाई उजागर गर्ने, उत्पादनहरु प्रर्दशन गर्ने, प्रत्येक महिनामा प्रत्येक वडामा छुट्टै महोत्सव गर्ने र अरु नगरपालिकाले पनि नगरकोटमा संयुक्त र आफ्ना नगरपालिका क्षेत्रमा पन पर्यटकीय गतिबिधिी गर्ने गरि तयारी गरेको बताउनुभयो ।’
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोट भ्रमण वर्ष सफल पार्न होटल र पर्यटन व्यवसायीले सकारात्मक भूमिका र सहयोग गर्नुपर्ने बताउदै हिमाल र सूर्योदय सूर्यास्त हेर्न मात्रै होइन नगरकोटमा धेरै कुरा हेर्न र जान्न सकिन्छ भनेर पर्यटक ल्याउने आधार तयार पर्नु पर्ने बताउनुभयोे ।
भ्रमण वर्षमा नगरकोटहुदै कलमसी, दुलाल गाउँबाट काभ्रेसम्म ग्रामिण पर्यटनसंग पर्यटकलाई जोड्ने, पुरानो गढी, बनेपा गुम्बा, नगरकोट टावर, हिले जलजले तालदेखि अनगिन्ती पर्यटकीय क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने, बनेपाबाट २० मिनेटमा नगरकोट पुग्ने सडक कालोपत्र सुरु गरेको पनि बताउनुभयो ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले नगरकोटको पहिचानलाई विश्वभर पुर्याउन भ्रमण वर्ष सफल हुने बताउदै चार पालिकाको संगमस्थल नगरकोटको विकासमा चारवटै पालिकासंग जुटर सबै पालिकामा यहाँका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पुर्याउने बताउनुभयो । होटल व्यवसायीले घोषणा गरेको १० प्रतिशत छुटको प्याकेज अपुग भएको भन्दै उहाँले नगरपालिका र वागमति प्रदेश सरकारको २८ करोडको लागतमा नगरकोटलाई खानेपानीको व्यबस्था गरेको बताउनुभयो ।
कार्यक्रममा उद्योग व्यवसायी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेमकिपालगायत पार्टीका नेताहरुले नगरकोट भ्रमण वर्ष सफल पार्न सबै निकायले सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।