भक्तपुर, २३ चैत । वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले आफ्ना कोही नभएर बिभिन्न आश्रममा पुगेका अनाथ, असाह्य नागरिकको स्वास्थ्य उपचारको जिम्मा अब प्रदेश सरकारले लिने बताउनु भएको छ ।
सडकमा अलपत्र परेका, अनाथ, असाह्य एवं वेवारिसे सडक मानवका लागि भवन निर्माणको सहयोगार्थ मानव कल्याण समाज भक्तपुरले मध्यपुरथिमिको राधेराधेमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको आज तेश्रो दिन उहाँले महायज्ञस्थलमा यस्तो बताउनु भएको हो । वागमति प्रदेश भित्र रहेका बिभिन्न आश्रमहरुमा रहेका अनाथ, असाह्य नागरकलाई प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमासंग जोडेर स्वास्थ्य उपचारको व्यबस्था गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उचित स्वास्थ्य उपचार नपाएर बिभिन्न आश्रममा रहेका अनाथ, असाह्य नागरिकले अब उपचार नपाएर ज्यान जानु पर्ने अबस्थाको अब हामी अन्त्य गर्दैछौँ, आउँदो बजेटमै स्वास्थ्य बिमासंग जोडेर यस्ता नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्ने व्यबस्था गदैछौँ, अब उपचार नपाएर ज्यान जानु पर्ने अबस्थाको अन्त्य गर्छौ ।”
मानव कल्याण समाजले २०७४ मा भक्तपुरमा सडकमा रहेका रोगी, मनोरोगीदेखि अनाथ असाह्य नागरिकको सडकबाट उद्धार गरेर लालनपालन गर्दै आएको स्मरण गर्दै उहाँले जग्गाको व्यबस्थापन गरे यसका लागि भवन बनाउने जिम्मा लिने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “जसका कोही छैनन्, जो सडकमा बसेर कष्टकर जिन्दगी बिताइरहेका छन्, उनीहरुको मानव कल्याण समाज छ, जसले सडक मानव मुक्त गर्ने परिकल्पना लिएर अगाडि बढेको छ, यो संस्थाका लागि भवन निर्माणको जिम्मा हामी लिन्छौ, प्रदेश सरकारले भवन बनाउने जिम्मेवारी लिन्छ, जग्गाको व्यबस्थापन तपाईहरु गर्नुस् ।” महायज्ञमा उहाँले रु. एक लाख ११ हजार १११ दान गर्नुभयो ।
मानव कल्याण समाजले अध्यक्ष सुमि मानवको नेतृत्वमा २०७४ सालदेखि भक्तपरमा सडक मानव, मनोरोगी, बलात्कारमा परेकी बालिकादेखि जन्मने बित्तिकै सडकमा फ्यालिएकी शिशु, घरबाट निकालिएर सडकमा आएका अनाथ बालबालिकको उद्धार, उपचार, आश्रय, शिक्षा, स्वास्थ्यको व्यबस्था गर्दै आएको छ । महायज्ञमा संस्थाकी संस्थापक अध्यक्ष समेत रहनु भएकी सुमि मानवले कथा वाचन गर्नुभएको छ । महायज्ञमा दुई करोड संकलन गर्ने लक्ष्य रहेको महायज्ञ आयोजना समितिका संयोजक गोपी न्यौपानेले जानकारी दिनुभयो ।
२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेका थियौ, अहिले झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे बुबाआमा राखेर नाना, खाना र छानाको व्यबस्था गरेका छौँ, समाजले अहिलेसम्म १५१ जना अनाथ बालबालिकालाई काभ्रेमा राखेर पठन पाठन र संगै सबै जिम्मेवारी उठाएका छौँ, अहिलेसम्म हामीले २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी सकेका छौँ, कतिले सेवा घरमै प्राण त्याग्नु भयो, कतिलाई पारिवारिक पुर्नमिलन गरायौ, यो दायित्वलाई स्थायीत्व दिन महायज्ञ आयोजना गर्न लागेका हौ ।
हाल भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङ शाखामा कार्यालय स्थापना गरेर समाजले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको बताउदै उहाँले काभ्रेको बनेपामा स्थानीय र प्रदेश सरकारले निर्माण गरेको भवनमा १५१ बालबालिका आश्रित रहेको बताउनुभयो । सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो व्यबस्थापनका लागि हामी सबैले सहयोग गर्नु पर्ने बताउदै महायज्ञ मार्फत आवासको दियो व्यबस्थापन गरिने बताउनुभयो ।