२५ चैत,काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले मातहतका कमिटीमा ८ बुँदे सर्कुलर गरेको छ ।
चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को निर्णयअनुसार मातहतका कमिटीमा आइतबार ८ बुँदे सर्कुलर पठाइएको हो ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिको संक्षिप्त संश्लेषण गरेको गरेको विषय उल्लेख छ । यस्तै हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने, सह–इन्चार्ज रहेकाहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने सर्कुलरमा उल्लेख छ । यस्तै सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल, बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेश प्रसाद सिंहलाई तोक्ने निर्णय भएको सर्कुलरमा उल्लेख छ ।
यसैगरी पार्टी एकता प्रक्रियासँग जोडिएका नेताहरूको जिम्मेवारी निश्चित पनि गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट जयराज संयोजक लिम्बू र प्रवीण चाम्लिङलाई वैकल्पिक केन्द्रीय सदस्य, मधेस प्रदेशबाट लक्ष्मी चौधरी (ज्योति)लाई केन्द्रीय सदस्य र प्रमोद साहलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।