२७ चैत ,काठमाडौं ।
हरेक वर्ष हुँदै आएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन भोलिदेखि हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भोलिदेखि तीन दिन चैत २८ देखि ३० गते (अप्रिल १० देखि १२) सम्म हुने भएको हो।
यसपटकको सम्मेलनमा जलवायु परिवर्तन र त्यसबाट स्वास्थ्य क्षेत्रमा परेको असर, दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्न स्वास्थ्य प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा बृहत् छलफलका साथै यही विषयमा गरिएका विभिन्न अध्ययन अनुसन्धानका रिपोर्ट सार्वजनिक गरिने परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले बताए।
यस सम्मेलनको मूल नारा ‘स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन : दिगो र समतामूलक भविष्यका लागि उत्थानशील स्वास्थ्य प्रणाली’ रहेको छ।
तीन दिनसम्म चल्ने सम्मेलनमा योपटक १४६ वटा मौखिक र १३० वटा पोस्टर प्रस्तुतीकरणका लागि गरी कुल २७६ वटा abstract हरू प्राप्त भएको र जसमध्ये scientific कमिटीले निर्धारण गरेको मापदण्डको आधारमा ८७ वटा मौखिक प्रस्तुतीकरण (Oral presentation) र ११५ वटा पोस्टर प्रस्तुतीकरण हुने समेत परिषद्का सदस्य सचिव डा. जोशीले बताए।
सम्मेलनमा राष्ट्रिय तथा अन्ताराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति निर्माताहरू र विकास साझेदार निकायहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।