२९ चैत,काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।
तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्यो ।
यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।
नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।
सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।प्रसाईंलाई प्रहरीले झापाबाट काठमाण्डौ ल्याउँदैछ । यही चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईं भारतमा समातिएपछि प्रहरीले बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको थियो ।
प्रसाईंलाई काठमाण्डौ ल्याएर सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको बताइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ ल्याउने तयारी भएको छ ।