२९ चैत,भक्तपुर ।
आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । तर, त्यसका लागि समय भने अहिलेसम्म यकिन भइसकेको छैन । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि छलफल हुनेछ ।
शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो । आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।
हिजोको पहिलो छलफलमा दुवै पक्षले आ–आफ्ना कुराहरू राखेका थिए । त्यसक्रममा शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए । उनीहरूले नयाँ ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र के हो ? भन्ने विषयमा सरकारको प्रष्टता खोजेका थिए । त्यस्तै विगतमा सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन किन ढिला गरेको ? त्यसको समेत ठोस जवाफ माग गरेका थिए ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका छन् । हिजोबाट शिक्षा मन्त्रालय र आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलबिच ऐन विषयमा गरिने वार्ताको आधार तयार गर्न छलफल भएको थियो ।