भक्तपुर, ३१ चैत : आज २०८१ सालको अन्तिम दिन । भोली सोमबार नपालीहरुको नयाँ वर्ष २०८२ को आगमन । पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत गर्न भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटका ६२ वटा होटल आज पर्यटकले खचाखच भरिएका छन् । नयाँ वर्षको अवसरमा नगरकोट आज बेहुलीझै सिंगारिएको छभने यहाँका होटल र चोकहरुमा झिलिमिलिसंगै झकिझकाउ देखिएको छ ।
चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा २०८२ साल बैशाख १ गते अर्थात भोलीदेखि सुरु गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई स्वागत गर्न आन्तरिक तथा बाह्य पर्यटकको आइरो लागेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म आज राती १० बजेसम्म नगरकोटमै छु, यहाँका पर्यटन व्यवसायीले होटलहरुदेखि चोक चोकमा झिलिमिलि गरेर नगरकाटलाई बेहुलीझै सिंगारेका छन् । यहाँका होटलहरु आन्तरिक र बाह्य पर्यटकले खचाखच भरिएका छन् । यहाँका होटलहरुले नयाँवर्षको पूर्वसन्ध्यामा आज लाईभ कन्सर्टहरुको समेत आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिइरहेका छन् ।’

नगरकोट आउन सडकको कुनै समस्या नभएको बताउदै उहाँले भ्रमण वर्षले यहाँको पर्यटन मार्फत यहाँका सबै क्षेत्रको आर्थिक गतिबिधिलाई चलायमान बनाउन सफल हुने बताउदै पर्यटकको आकर्षण नगरकोटमा घुम्ने मात्रै नभई बसाई लम्ब्याउने पनि रहेको बताउनुभयो ।
पर्यटनको विकासबाटै यहाँको आर्थिक बिकाससंगै देशको आर्थिक बिकासमा टेवा पुर्याउने उदेश्यले नगरकोट भ्रमण वर्षको आयोजना गरेको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नगरकोटलाई स्थायी रुपमा नै सबै विकास गर्ने खाका बोकेर आयोजना गरेको भ्रमण वर्षले व्यवसायीलाई उत्साह थपेको उहाँले बताउनुभयो ।
नगरकोट भ्रमण वर्ष–२०८२’ का क्रममा समेत बिभिन्न निकायबाट पर्यटकको आगमन भएपछि नजिकै ग्रामिण क्षेत्रमा खुलेका होमस्टेमा पनि पर्यटकको चाप बढेको उहाँले जानकारी दिनुभयो ।
बिहान नगरकोटबाट देखिने सुन्दर हिमाली दृश्यसंगै सूर्योदयको झुल्को हेर्नेहरुको भीडले नगरकोटमा आज एकैरात २८ हजार पर्यटकले बास बसेको चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
लामाले भन्नुभयो, ‘नगरकोट भ्रमण वर्षको सुरुवातको पूर्वसन्ध्या र नयाँ वर्षको आगमनलाई कुरिरहेका पर्यटकहरुको आगमन नगरकोटमा आज अत्याधिक रहेको छ । यहाँका सबै होटल खचाखच भरिएका छन् । आज बिहानैदेखि होटलका लागि आएका बुकिङ्ग लिएको छैन । कतिपय पर्यटक बस्ने रुम नपाएर फर्किन बाध्य छन् । होटल नपाएर नजिका होमस्टे समेत पर्यटकले भरिएका छन् ।’
अझै केही दिन नगरकोटमा पर्यटकको खचाखच हने बताउदै नगरकोट आउने पर्यटकलाई १० देखि १५ प्रतिशत छुटको व्यबस्था गरेकाले अरु दिनमा आउन पनि सकिने उहाँले बताउनुभयो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन लामाले २०७२ सालको महाभूकम्प र लामो समयको कोरोना भाइरसको महामारीले थला परेको पर्यटन व्यवसायलाई पर्यटन भ्रमण वर्षले जुरुक्क उठाएर नगरकोटमा पर्यटकको आगमन बढाउने देखिएको बताउनुभयो । आज नगरकोटमा पर्यटकले भरिएको देख्दा व्यवसायीहरु निकै उत्साहित भएका बताउदै उहाँले भोली एकैदिन एक लाख पर्यटकको आगमन हुने अनुमान गरिएको बताउनुभयो ।
होटल व्यवसायी एवं होटल चौतारीका सञ्चालक बद्री माक भन्नुहुन्छ–“नगरकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षणको केन्द्र बनेको नगरकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा बाह्य मात्रै नभई आन्तरिक पर्यटक खचाखच भएको छ । कोरोना पछि यसवर्ष आन्तरिक पर्यटकको घुइचो लागेको देख्दा पर्यटन व्यबसाय पुन चलायमान हुने आशा पलाएको छ, लगानी बढेको छ ।”
स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यबसायमा आशा पलाएको अर्का होटल व्यवसायी एवं होटल पिसफुलका सञ्चालक रामशंकर ध्वजु बताउनुहुन्छ । उहाँले चारवटै पालिका मिलेर भ्रमण वर्ष मनाउँदा पर्यटन व्यवसायमा थप उत्साह र लगानी थपिएको बताउनुभयो ।–––