हामीसँग जोडिनुहोस

जिब्रो छेडी महाद्धिप बोकेर बोडेको टोलटोल घुमे २८ वर्षीय सुजन, जात्राको यस्तो छ ईतिहासदेखि किम्बदन्ती 

6 मिनेट
भक्तपुर, २ बैशाख : मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित पाँचो गणेशको उत्तर फर्केको फल्चा । फल्चा अगाडिदेखि बोडेको हमलक्ष्मीस्थानसम्म मानिसको अत्यन्तै भीड । फल्चा अगाडि मानिससंग मानिस टासिएझै ठूलो भीड र ठेलमठेल ।
बिहानैदेखि सिन्दुर खेलेर बिभिन्न देवीदेवताका् खट जात्रा गरेर रमाउदै बिस्का मनाइरहेका मध्यपुरथिमवासी र अन्य ठाउँबाट जात्रा हेर्न आएका जात्रालुहरुको ठूलो भीडले ठेलमठेल । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको फल्चा आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भए ।
नजिकै धिमे बाजा र मुस्य बाजाको आवाज गुञ्जिरहेको थियो । नजिकै पाँचो गणेशका जात्राको खट । पाँचो गणेशको फल्चामा बनाएको अग्लो मञ्च । त्यही मञ्चमा जिब्रो छेड्ने प्रतिक्षामा रहेका कर्मीनाय, नाय पमा, पुजारी र सहयोगीहरु ।
दिउँसो २ बजेर ५० मिनेटमा हातमा बाँसको कप्टेरोबाट बनाएको चिम्टि हात हातमा बोकेर भिनाभी भिनाभी भन्दै त कोही जयजयकार गर्दै भीड छिचाल्दै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो । बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे २८ वर्षीय सुजन वागश्रेष्ठ ।
बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठलगायत मञ्चमा उक्लिए । जिब्रो छेड्न तयार भएका सुजनले मञ्चमा उक्लेर सबैलाई नमस्कार गरे। जात्रा हेर्न आएका सबैलाई नमस्कार गर्दै वरिपरि घुमे । देवी देवतालाई सम्झेर नमस्कार गरे ।
त्यसपछि सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि ३ बजेर १० मिनेटमा वागश्रेष्ठको जिब्रो छेडिदिनु भयो ।
त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गर्दै चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर बोडे शहर घुम्न निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले तेश्रो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिडेर हौसला प्रदान गरिरहे ।
महाद्विप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याईयो । बोडे शहर घुमिसकेपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्धिपलाई मन्दिरस बाहिर राखेर सुजन भित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौको भीड बिस्तारै तितरवितर लाग्यो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको दीलकृष्ण प्रजापति बताउनुहुन्छ । परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा विगत तीन वर्षदेखि जिब्रो छेडेर जात्राले निरन्तरता दिनु भएको छ ।
अहिलेसम्म जिब्रो छेड्ने व्यक्तिहरु :
हरेक वर्षको वैशाख २ गते बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा जिब्रो छेड्ने काम हुने गर्दछ । यसरी वि.स. १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठदेखि हालससम्म बेखानारायण हायश्रेष्ठ, हरिदेव किलाश्रेष्ठ, भासिंक श्रेष्ठ, इन्द्र बाटा श्रेष्ठ, हर्केश्वर ब्याँ श्रेष्ठ, चन्द्रसेन द्यों श्रेष्ठ, दीलकुमार खपे श्रेष्ठ, मुनि घों श्रेष्ठ, धर्मराज बलाय श्रेष्ठ, कृष्णचन्द्र बाग श्रेष्ठ, उहाँका भाई बुद्धकृष्ण बाग श्रेष्ठ, जुजुभाई बासँ श्रेष्ठ हुदै अहिले सुजन वागश्रेष्ठसम्म आइपुग्दा एक पटकदेखि १२ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै आएको छ । यो जात्रा १०७ वर्षसम्म जिब्रो छेडाउनेहरुको नामावली स्थानीय तहमा रकर्ड रहेको छ त्यो भन्दा अगाडिको रेकर्ड भने राखिएको छैन ।
जात्राको यस्तो किंवदन्ती :
यो जात्राका विषयमा दुई फरक  किंवदन्ती छ । पहिलो किंवदन्तीअनुसार प्राचीनकालमा बोडेको तल धर्मपुरमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विधाले बोडेभरि पासो राखिदिए । बोडेमा दुःख दिन आएको ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो । भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जवर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घूँघरु बाँधिदिए ।
पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको गह्रौँ भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमापूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।
दोस्रो किंवदन्ती :
धर्मपुरमा मान्छेहरु खेतीपाती गरेर परिवार चलाइरहेका थिए । धर्मपुरदेखि माथिको डाँडा बोडेमा भने त्यति आवतजावत थिएन । त्यसैले बोडेमा के छ भन्ने थाहा थिएन । बस्ती छाडेर माथिल्लो डाँडामा जान उनीहरु डर मान्थे । एकदिन आगो बोकेर डाँडाबाट कोही आएको जस्तो देखियो र मानिसहरु हेर्न गए । आगोको ज्वाला बोकेको मान्छेको पछिपछि लाग्दा महालक्ष्मी मन्दिर भएको ठाउँ पुगरे अलप भयो । अर्को दिन पनि त्यसैगरी आगो बोकेर आएको मान्छे देखियो । कहाँ गयो भनेर हेर्दा कालिकामाई भएको ठाउँमा अलप भयो ।
हातमा आगो बोकेको, जिब्रो निकालेको स्वरुप हरेक रात आउने र मन्दिरमा पुगेर अलप हुने गरिरहेको थियो । हरेक दिन मान्छे त्यही स्वरुपलाई पछ्याउँदै जाँदा मन्दिरको परिक्रमा गरिरहेका थिए । त्यो उनीहरुको नियमित काम जस्तो बन्न थाल्यो । महालक्ष्मी मन्दिरभित्र गएर सिद्ध भएकाले जिब्रो छेडेर आउने स्वरुप भैरवको भएको र भैरवले त्यही काम निरन्तर गरुन् भनेर आराधना गरेको विश्वासमा स्थानीयले निरन्तर त्यही गर्न थाले ।
वर्षमा एकदिन भए पनि सबै मान्छे भैरवले जस्तै देउता घुमौँ भनेर लाग्दा त्यसले त जिब्रो पनि निकालेको थियो नि भन्ने कुरा उठ्यो । त्यसैले मानिसहरुले जिब्रो छेडेर लगातार जिब्रो निकाल्दै मन्दिरहरु परिक्रमा गर्ने काम गर्न थाले । त्यसले खेतीपातीसँगै स्थानीयको स्वास्थ्य राम्रो भएको विश्वास गरियो । त्यसैले अहिले पनि जिब्रो छेडदा स्थानीयले हातमा चिराग लिएर जाने गर्छन् । महालक्ष्मी मन्दिरको माटो हालेपछि जिब्रोमा छेडिएको घाउ निको हुन्छ भन्ने विश्वासमा गरिन्छ ।
स्थानीय बुढापाकाले भने दुवै किंवदन्ती सुन्दै आएको भएपनि कुन सत्य हो भन्न नसकिएको बताउँछन् । यद्यपि जिब्रो छेडाउँदै आएका बुद्धकृष्ण भने पहिलो किंवदन्ती सत्य नरहेको दाबी गर्दै जिब्रो छेड्ने व्यक्ति कुनै ख्याक वा राक्षस नभई देवता भएको बताउनु हुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।