
काठमाडौँ,३ वैशाख ।
नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिने भएको छ । आन्दोलन स्थगित गरेर कार्य क्षेत्रमा फर्किन सरकारले गरेको आग्रह बेवास्ता गर्दै महासंघले आन्दोलन जारी राख्ने भएको हो ।
यसैगरी, नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले सरकारले जारी शिक्षक आन्दोलनलाई कमजोर बनाउन लागेको बताएकी छन् । पराजुलीले सामाजिक सञ्जालमा भनेकी छन्,‘आदरणीय शिक्षक कर्मचारी साथीहरू, झुट्टा हल्लाकोपछि नलाग्न सबैमा अनुरोध । नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीचमा गत २०८० असोज ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद्बाट सम्बोधन गर्नुपर्ने माग मुद्दाहरूलाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाई प्रतिगामी शिक्षा ऐन जारी गरी नेपालको सार्वजनिक शिक्षालाई पूर्ण रूपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको छ।’
देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन्। आम शैक्षिक हड्तालसहित उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिष्कार गरेका छन् ।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसमेत प्रभावित भएको छ ।






