
काठमाडौं,६ वैशाख।
आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्न लागेको हो ।
खेल अहिले बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा हुनेछ । पछिल्ला ३ वटै खेलमा जीत निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने दबाब छ ।
यो खेल जित्ने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जीत निकालेका थिए । ३ खेलबाट दुवै टोलीले समान ६ अंक जोड्दै शीर्ष दुईमा पक्का गरेका हुन् ।
अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जीत निकालेका कारण नेट रनरेटमा नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र हराएको थियो भने अफगानिस्तानले यूएईलाई १८० रनले हराएको थियो । त्यसकारण वर्षाका कारण खेल रद्द भयो भने अफगानिस्तान विश्वकपमा छनोट हुनेछ । नेपालका लागि चाहिँ खेल हुनैपर्ने र जित्नैपर्ने दबाब छ ।
नेपालले यूएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र यूएईलाई १८० रनले पराजित गरेको थियो ।
अघिल्लोपटक २०२४ मा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो ।