
भक्तपुर, ६ बैशाख । भक्तपुरका विद्यालयहरुमा अब योगाभ्यास सञ्चालन हुने भएको छ । भक्तपुर जिल्लाभित्रका विद्यालयमा लागु गर्ने गरि योगाभ्यास पाठ्यक्रमलाई अन्तिम स्वरुप प्रदान गर्दै योगाभ्यास कक्षा सञ्चालन हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको विशेष उपस्थितिमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कमला ज्ञवाली, जिल्ला आर्युवेद कार्यालय भक्तपुरका प्रमुख डा.नदन कडेंल, योग जिल्ला समन्वय समिति भक्तपुरका संस्थापक अध्यक्ष बालमुकुन्द सुवाल, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, योग विशेषज्ञद्धय डा.क्षितिज बाराकोटी एवं डा. आनन्द गैरे, नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष दधिराम गेलाल,भक्तपुर जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामीलगायत जिल्लाका यौगिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा बसेको विशेष भेलामा प्रारम्भिक योगाभ्यास पाठ्यक्रम माथि छलफल गरेको थियो ।
भेलाको छलफलले भक्तपुरका प्रजिअ अर्याल प्रमुख सल्लाहकार रहने गरि तत्काल योगाभ्यास पाठ्यक्रम तयारीका लागि योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजुको अध्यक्षतामा सदस्य सचिव राष्ट्रिय योग ध्यान आरोग्य सञ्जालका महासचिव एवं योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नवराज काफ्ले रहने गरि नौ सदस्यीय योगाभ्यास पाठ्यक्रम तयारी समिति समेत गठन गरिएको छ ।
सदस्यहरुमा शिक्षा विकास तथा समन्वय समिति ईकाई प्रमुख कमला ज्ञवाली, जिल्ला आर्युवेद कार्यालय भक्तपुरका प्रमुख डा.नदन कडेंल, योग विशेषज्ञद्धय डा.क्षितिज बाराकोटी एवं डा. आनन्द गैरे, नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष दधिरा गेलाल, भक्तपुर जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी रहनुभएको समिति सर्वसम्म चयन गरेको योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नवराज काफ्लेले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा केहि दिन अगाडी बसेको वैठकबाट योग जिल्ला समन्वय समिति भक्तपुरका मानार्थ सदस्य बालमुकुन्द सुवालको संयोजकत्वमा तयार पारिएको प्रारम्भिक योगाभ्यास पाठ्क्रमलाई संशोधन सहित उल्लेखित समितिले अन्तिमस्वरुप प्रदान गरेको थियो ।
शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कमला ज्ञवालीले हाल विभिन्न मागहरु राख्दै शिक्षकहरु आन्दोलनमा रहेको कारण दर्शाउदै शिक्षकको आन्दोलनको विश्राम पश्चात भक्तपुर जिल्लाभित्रका शिक्षकहरुलाई अभिमुखीकरण गर्दै सो योगाभ्यास पाठ्यक्रम लागु हुने बताउनुभएको छ ।