
७ वैशाख ,काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन्।
गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी मंगलबार बिहान दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सवस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन्। सोही दिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।
वैशाख १० गते भारतका विद्युतमन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ। सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ। विद्युतमन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ।