काठमाडौं, ८ वैशाख।
बागमती प्रदेश सरकारले विद्युतीय प्रणालीमार्फत स्वास्थ्य संस्था दर्ता/नवीकरण सुरु गरेको छ । प्रदेश सरकारले संशोधित प्रदेश स्वास्थ्य ऐन २०७५ कार्यान्वयन गर्दै विद्युतीय प्रणाली मार्फत स्वास्थ्य संस्था दर्ता/नवीकरण अघि बढाएको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले उक्त ऐन अनुसार अनलाइनबाटै स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्ने कार्य गर्ने गरी प्रविधि तयार गरेको थियो । गत फागुनमा मात्र सुरुवात गरिएको उक्त प्रविधिबाट मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूको दर्ता तथा नवीकरणको काम अघि बढाएको हो ।
अनलाइनबाट प्राप्त निवेदनका आधारमा मन्त्रालयले आइतबारबाट स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको नेतृत्व टोलीले आइतबार काठमाडौँको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको थियो । २०० शय्याको अस्पताल सञ्चालनको अनुमति रहेको नर्भिकले नवीकरणका लागि अनलाइन मार्फत आवेदन दिएको थियो । सोही आवेदनका आधारमा सचिव डा. गौतमको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

1 मिनेट