
काठमाडौँ,८ वैशाख ।

राष्ट्रिय मानवअधिकार आयोगले कक्षा-१२ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन हुने वातावरण मिलाउन र शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारलाई आग्रह गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई पढ्ने अधिकारबाट वञ्चित नगराउन आग्रह गरेको हो।
आयोगले यसअघि पनि समस्या समाधानको लागि सरकारलाई पत्राचार गरेको जनाएको छ।
‘२०८२ वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा कार्यक्रम प्रकाशित भइसकेको, एसइई परीक्षाका उतरपुस्तिका परीक्षण र विद्यालय भर्ना कार्यक्रम शुरूवात हुन नसकेको र शिक्षक महासङ्घको माग समयमा नै सम्बोधन हुन नसक्दा सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको भनी अभिभावक सङ्घ नेपालले यस आयोगको ध्यानाकर्षण गराएको सन्दर्भमा आयोगले समस्या समाधानको लागि वैशाख ७ गते नेपाल सरकारलाई पत्राचार गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
पत्रमा नेपालको संविधानको धारा ३१ र ३९ द्वारा प्रदत्त बालबालिकाको मौलिक हक संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासंघसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूपर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरिएको छ।
Related





