
काठमाडौं ,१० वैशाख ।
सरकारले मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने भएको छ। उनीहरु दुवै जनाको २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा मृत्यु भएको थियो।
आज (बुधवार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। यसैगरी सरकारले वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गरेको पनि उनले बताए।
उनले सार्वजनिक खरिद (चौधौँ संशोधन) नियमावली, २०८२ समेत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार बैठकले मुलुकमा सुशासन कायम गर्न प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरेको छ।
उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका प्रमुख सचिव केदारनाथ शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको पनि बताए।