
काठमाडौं,११ वैशाख।
बुधवार टर्कीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पका कारण प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको टर्की भ्रमण स्थगित भएको छ । टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएको थियो ।तर भूकम्प गएपछि अन्तिम समयमा भ्रमण स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएपछि गत आइतबारदेखि नियमित सुनुवाइ भइरहेको ५२ संवैधानिक नियुक्ति विवादसम्बन्धी रिटहरूमाथिको सुनुवाइको पेसी वैशाख २८ गतेका लागि तोकिएको थियो ।