
काठमाडौं,११ वैशाख।
सर्वोच्च अदालतले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई स्थान हद तोकेर अनुसन्धान गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य स्थान तोकेर राख्न र अनुसन्धान गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुइँकेलले अमेरिका जानुअघि उनीहरू बसेको वा अन्य स्थान तोकेर अनुसन्धान गर्ने आदेश भएको बताए।
अमेरिकाले निष्कासन गरेका चार भुटानी शरणार्थीको हकमा सर्वोच्चले यस्तो आदेश दिएको हो। अमेरिकाले उनीहरूलाई भुटान निष्कासन गरेको थियो। तर, वाशिङ्टनस्थित भुटानी दूतावासबाट जारी भएको ट्राभल डकुमेन्ट भुटानले नियन्त्रणमा लिएर उनीहरूलाई भारत हुँदै नेपाल पठाएको थियो। नेपाल प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।