
काठमाण्डौ,१३ वैशाख ।
सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार निर्णायक वार्ता हुँदैछ।
शिक्षा मन्त्रालयले शनिबार नै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए।शिक्षकका प्रतिनिधि हिँडेपछि पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए। मन्त्रालयले भने शुक्रबार कारणवस शिक्षकहरुसँग वार्ता हुन नसकेको जनाएको छ।
तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक आन्दोलन गर्दै आएका छन्।
शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ। परीक्षा बोर्डले यही वैशाख ११ गतेका लागि तय गरेको कक्षा १२ को वार्षिक परीक्षा पनि शिक्षक आन्दोलनको कारण वैशाख २१ गतेका लागि सारिएको छ।यसैबीच आन्दोलनरत शिक्षकहरूले सरकारसँगको वार्ता र सडक आन्दोलनलाई सँगसँगै लैजाने भएका छन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार पनि निर्धारित समयमै सडक आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरेका छन्।