
काठमाडौँ,१७ वैशाख।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन वैशाख २० गतेदेखि हुने तय भएको छ । यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपनि बुधबारसम्म टुंगिन सकेन ।
एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीले परराष्ट्र मन्त्रालयलगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दा लगातार चौथो दिन बुधबार पेसीमा चढेको थियो । तर, न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा बुधबार पनि मुद्दा हेर्न नमिल्नेमा परेको छ । यससँगै अब बिहीबार सार्वजनिक बिदा भएकाले शुक्रबार एक दिन अदालत खुला रहने भएको छ । उक्त दिन एनआरएनएको मुद्दामा पेसी रहेको नरहेको सर्वोच्चले तारेख दिइसकेको छैन ।
केसीको मुद्दामा एनआरएनएकै उच्चस्तरीय समितिले वैशाख २० देखि गर्ने भनिएको एकता महाधिवेशन रोक्न अन्तरिम आदेशको माग गरिएको छ ।
वैशाख १२ गते दायर उक्त मुद्दाको पहिलो सुनुवाइ वैशाख १४ गते न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजालसमा सुनुवाइ भएको थियो । पाण्डेयको इजलासले कारण देखाऊ आदेश गर्दै एनआरएनएको तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै राजेश शमशेर राणाले दायर गरेको रिटलाई सँगै राखेर हेर्न आदेश दिएको थियो ।