
काठमाडौँ,१८ वैशाख।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्ति गर्न तयारी अवस्थामा रहन अपिल गरेका छन् । एक सय ३६ औँ मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिका लागि तयारीसाथ बस्न नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् ।
अबको आन्दोलन शान्तिपूर्ण हुने तर राज्यले दमन गरे दुनियाका कुनै शक्तिले रोक्न नसक्ने प्रचण्डको जिकिर थियो । उनले जनताका तागतका साथ एकजुट भएर लागेमा आफूले भनेजस्तै संविधान संशोधन गर्न सकिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुप नै अहिलेको आवश्यकता भएको प्रचण्डले जोड दिए ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, श्रमिक र कृषकका हितमा जनयुद्ध भएको भन्दै उनले माओवादी जनयुद्ध र जनआन्दोलनको मिश्रणमा श्रमिकहरुको हकअधिकार संविधानमा राख्न सम्भव भएको बताए ।