
भक्तपुर, २१ बैशाख ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु गरेको छ । आज परीक्षाको पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ ।
राष्ट्रिय परीक्षा बोर्डले देशभर एक हजार ५९१ (जापानमा एक सहित) परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । जापानको परीक्षा केन्द्रमा इमेलबाट प्रश्न पत्र पठाएर परीक्षा लिने व्यबस्था गरेको छ ।
यसवर्ष परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमित तर्फ १ लाख ९८ हजार ८७५ जना छात्र र १ लाख ९७ हजार १३ जना छात्रा गरि ३ लाख ९५ हजार ९०८ परीक्षार्थी र आंशिक तर्फ एक लाख १५ हजार ६१७ जना गरि कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागि भएका बोर्डले जनाएको छ । यसवर्ष सबैभन्दा कम मनाङबाट कुल ४५ परीक्षार्थी र सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी भएका छन् ।
जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका लगि विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
परीक्षाका लागि एक हजार ५९१ केन्द्राध्यक्ष र दुई हजार १९७ सहायक केन्द्राध्यक्ष, २१ हजार ५५३ निरीक्षक, दुई हजार १९७ जना कर्मचारी, एक हजार ५९१ जना कार्यालय सहयोगी र १९ हजार ८० सुरक्षाकर्मी परिचालन गरिएको बोर्डले जानकारी दिएको छ ।
जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न रोक लगाईएको छ । परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।
परीक्षा सञ्चालन अवधिभर कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
परीक्षाको मर्यादाविपरीत शिक्षक÷कर्मचारी÷निरीक्षक÷ परीक्षाथीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च÷अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामाग्रीहरूका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भंग गरेको अभियोगमा कानुनी कारबाही गरिने ब्यबसथा गरिएको छ, ।
यही बैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण पछाडि सारेर आजबाट सञ्चालन गरेको हो ।