
काठमाडौँ,२२ वैशाख ।
नेपाली कांग्रेसले पटक–पटक समय दिँदा पनि महाधिवेशन गर्न नसक्ने चार भ्रातृसंस्था भंग गर्ने भएको छ । अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट अहिलेसम्मको अवस्था हेर्दा महाधिवेशन गर्न सक्ने कुनै पनि आधार नदेखिएका चार भ्रातृसंस्था भंग गर्ने कांग्रेसले निधो गरेको हो ।
कांग्रेसले भ्रातृसंस्थाबारे निर्णय गर्ने एजेण्डा राखेर वैशाख १७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । लगातार संघीय संसद् बैठक राखिएकाले अनिश्चित कालका लागि स्थगित गरिएको छ । मौका मिलाएर केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठक बोलाइ म्याद गुज्रिएका भ्रातृसंस्थाका तदर्थ समितिबारे निर्णय लिइने महामन्त्री गगन थापाले जानकारी दिए ।
चैत मसान्तमा सात भ्रातृसंस्थाको म्याद सकिएपछि वैशाख पहिलो साता बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले भ्रातृसंस्था तदर्थ समिति अध्यक्ष र महाधिवेशन सम्पन्न गर्न पार्टीले बनाएको निर्देशन समितिलाई ‘महाधिवेशन गर्न सक्ने आधार के हुन् ? तोकिएको समयमा कसरी गर्ने ?’ भनेर समिति र निर्देशन समितिको हस्ताक्षरमा खाका प्रस्तुत गर्न निर्देशन दिएका थिए ।