
काठमाडौं,२५ वैशाख ।
अबदेखि स्वास्थ्य बिमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने भएको छ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रममा सहज र सरल तरिकाले सेवा लिनका लागि बिमा बोर्डले पछिल्लो समय नयाँ प्रावधान ल्याएको छ।
जस अनुसार हालै मात्र बोर्डले अबदेखि आफैं बसेको स्थानबाट सेवा लिन र बिमा नवीकरण गर्न पाउने भएको हो। बोर्डका सूचना प्राविधिक प्रमुख इ सुरेशसिंह तिंकरीले भने‚ ‘बिमा कार्यक्रममा आबद्ध बिमित परिवारले पेमेन्ट वालेट र आइपीएसबाट घरमूलीको बिमा नम्बर राखी साथै नागरिक एप्सबाट नवीकरण गर्न सकिने छ।’
मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भएपछि यसबाट सेवाग्राहीलाई सजिलो हुने उनले बताए। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बिमाको सुधारमार्फत नागरिकलाई सहज सेवा बताउँदै आएका छन्।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेदेखि स्वास्थ्य बिमालाई सुधार गर्दै लैजान आफ्नो मुख्य एजेण्डा रहने बताउँदै आएका छन्।अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन। अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेश मल्लले जानकारी दिए।
हाल एजेन्टमार्फत मात्र बिमा नवीकरण गरिने व्यवस्था छ। यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ। यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ।