काठमाडौं,२७ वैशाख ।
सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ।
एटके एक्सपीडिसन कम्पनीका अशोक लामाको नेतृत्वमा सात शेर्पाको टोलीले सगरमाथाको चुचुरोसम्म पुगेर डोरी टाँगेको हो। टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा छन्। यो पटक सगरमाथाको ‘रोप फिक्सिङ’मा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ।
सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन्। आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवतजावत गरिरहेका हुन्। मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र यो अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ। मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ।
यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन्। टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा छन्। त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन्। आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भङ्ग गर्ने योजनामा छन्। भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा हुनुहुन्छ। यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन्।
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। अझै एक÷दुई टीम थपिने विभागको अनुमान छ। अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ। सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ।