
काठमाडौँ ,२८ वैशाख।
नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टी सांसदहरूलाई ह्वीप लगाएको छ । आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने र त्यसपछि आजकै बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालय सूचनामार्फत सार्वजनिक गरिसकेको छ ।
सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले यसअघि नै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न अनिवार्य उपस्थित हुन भन्दै आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।