यू–१९ साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज साबिक विजेता बंगलादेशसँग खेल्दैछ। भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार आज दिउँसो ४ बजे सुरु हुनेछ। ८ वर्षपछि प्रतियोगिताको उपाधि लक्ष्यसहित नेपाल बंगलादेशविरुद्ध मैदान उत्रन लागेको हो।
नेपालले पहिलो पटक सन् २०१५ मा यू–१९ साफको फाइनल खेलेको थियो। उक्त संस्करणमा नेपालले उपाधि जित्दै इतिहास रचेको थियो। त्यसपछि सन् २०१७ मा यू–१८ साफ च्याम्पियन बनेको नेपालले पछिल्लो आठ वर्षयता उपाधिहीन छ।
गत संस्करणमा नेपाल उपाधि नजिक पुगेको थियो। तर, फाइनलमा नेपालले बंगलादेशसँग स्तब्ध हुँदै तेस्रोपटक उमेर समूहको साफ उपाधि जित्ने अवसर गुमायो।
यसपटक भने सेमिफाइनलमै बंगलादेशलाई हराएर फाइनल यात्रा सुनिश्चित गर्ने मौका छ। गत संस्करणको फाइनल हारको बदला चुकाउने पनि नेपालको लक्ष्य छ।
नेपालले समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ५–० को फराकिलो जित दर्ता गरे पनि दोस्रो खेलमा आयोजक भारतसँग ४–० को लज्जास्पद हार व्यहोर्यो थियो। हारका बाबजुद नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
बंगलादेशले भने माल्दिभ्ससँग २–२ को बराबरी खेलेको थियो भने भुटानमाथि ३–० को प्रभावशाली जित निकालेको थियो। बंगलादेश भने समूह एको विजेता हो।
नेपालले आज बंगलादेशलाई पराजित गर्दै इतिहासमा चौथोपटक उमेर समूहको साफ फाइनलमा स्थान बनाउने लक्ष्यमा छ।
नेपालले बंगलादेशलाई हरायो भने फाइनलमा उसले भारतसँग पुनः भिड्ने सम्भावना बलियो छ। दोस्रो सेमिफाइनलमा आजै राति भारतले माल्दिभ्ससँग खेल्दैछ। फाइनल खेल भने आइतबार हुनेछ।
भारत साफ यू-१९ मा तीन पटकको च्याम्पियन हो भने नेपालले दोस्रो पटक उपाधि जितेको छ। बंगलादेश भने गत संकरणको विजेता हो।