
==============================================
मन्त्री थापाले भन्नुभयो, ‘भक्तपुर अस्पताललाई सुबिधा सम्पन्न नयाँ भवन निर्माणका लागि डिपिआर निर्माणका गर्न प्रदेश सरकारले बजेट व्यबस्थापन गरेको छ । यसै आर्थिक वर्षमा यस अस्पतालमा न्यूरो सेवा सुरु गर्न एक करोड बजेटको व्यबस्थापन गरेका छौ । आँखाको विशिष्ट सेवा पनि यही आ.ब.मा सुरु गर्दैछौँ । मदन भण्डारी मेमोरियल अस्पतालसंगको सहकार्यमा २४ सै घण्टा टेलिमेडिसिन सेवा सुरु गर्दैछौँ । यस अस्पतालमा यही वर्ष कम्तीमा पाँच शय्याको डायलोसिस सेवा सुरु गर्ने छौ । प्रदेशका सबै अस्पतालको स्तरोन्नती र जनशक्तिको व्यबस्थापन गर्दैछौ ।’
==============================================
भक्तपुर, ४ जेठ : भक्तपुर अस्पतालमा स्थापनाको १२० वर्षपछि पहिलोपटक सि.टि.स्क्यान मेसिन, क्यान्सर रोगको परीक्षण गर्ने मेमाग्राफी मेशिनसहित पाँच वटा वार्ड आज एकैसाथ उद्घाटन गरिएको छ ।
भक्तपुर अस्पतालले आज यहाँ आयोजना गरेको उद्घाटन कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सि.टि.स्क्यान मेसिन, मेमाग्राफी मेशिन, मानसिक वार्ड, बर्थिङ्ग वार्ड र बालरोग आईसियू (पिआईसियू) वार्डको उद्घाटन गर्नुभएको हो ।
मन्त्री थापाले देशकै माइलो अस्पताल अर्थात वीर अस्पतालपछि दोस्रो पुरानो अस्पताल भएपनि भक्तपुर अस्पतालमा उपकरणहरु जडान गर्न लामो समय लागेको बताउदै भक्तपुर अस्पताललाई उपकरणदेखि सेवा बिस्तारसम्मका लागि प्रदेश सरकारले बजेट र जनशक्ति व्यबस्थापन गर्दै आएको बताउनुभयो ।
देशको उत्कृष्ट अस्पतालको रुपमा पहिचान बनाएको भक्तपुर अस्पतालमा प्रदेश सरकारको आठ करोडमा सि.टि.स्क्यान र एक करोड १० लाखको लागतमा स्तन क्यान्सरको परीक्षण गर्ने मेमोग्राफी मेशिन जडान गर्न सफल भएको बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, ‘भक्तपुर अस्पताललाई सुबिधा सम्पन्न नयाँ भवन निर्माणका लागि डिपिआर निर्माणका गर्न प्रदेश सरकारले बजेट व्यबस्थापन गरेको छ । यसै आर्थिक वर्षमा यस अस्पतालमा न्यूरो सेवा सुरु गर्न एक करोड बजेटको व्यबस्थापन गरेका छौ । आँखाको विशिष्ट सेवा पनि यही आ.ब.मा सुरु गर्दैछौँ । मदन भण्डारी मेमोरियल अस्पतालसंगको सहकार्यमा २४ सै घण्टा टेलिमेडिसिन सेवा सुरु गर्दैछौँ । यस अस्पतालमा यही वर्ष कम्तीमा पाँच शय्याको डायलोसिस सेवा सुरु गर्ने छौ । प्रदेशका सबै अस्पतालको स्तरोन्नती र जनशक्तिको व्यबस्थापन गर्दैछौ ।’
कार्यक्रममा वागमति प्रदेशको स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ठ अस्पताल घोषणा हुन सफल भएको र यसवर्ष पनि आकस्मिक अनुगमनमा ९३ प्रतिशत र वामगति प्रदेश भित्रका अस्पताल मध्येमा ९८ प्रतिशत अंक ल्याउन सफल भएको बताउनुभयो ।
मन्त्रालयका सचिव डा. गौतमले भन्नुभयो, ‘आजबाट सञ्चालनमा ल्याएको सि.टि. स्क्यान मेशिन अबको १० वर्षसम्म केही हुदैन, यो मेशिन बिग्रियो भनेर १० वर्षसम्म कुनै बाहना गर्न पाइदैन । मेशिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरि कम्पनीले नै व्यबस्था गरेको छ । त्यही अनुसारले सम्झौता पनि भएको छ, केही गरि विग्रिए तत्कालै कम्पनीले मर्मत गर्नेछ । त्यसैले कम्तीमा १० वर्षसम्म यो मेशिन ढुक्कसंग सञ्चालन हुन्छ ।’
उहाँले सि.टि.स्क्यान मेशिनमा ए आई मोडलको क्यामरा रहेको, अत्याधुनिक एवं गुणस्तरीय मेशिन रहेको र १२८ स्ल्यासको मेशिनका लागि बोलपत्र आव्हान गरेपनि १६० स्ल्यासको मेशिन ल्याउन सफल भएको बताउनुभयो ।
सचिव डा. गौतमले भन्नुभयो, ‘भक्तपुर अस्पताललाई ठाउँको अभाव छ, पाँच वर्षका लागि दिएको भवन मानव अंगले अझै नछाड्दा समस्या आएको छ । भवन भएमा प्रदेश सरकारले मुटुका विरामीलाई काठमाडौं धाउनु नपर्ने गरि क्याथ ल्याब मेशिन ल्याउन सक्छौं, ठाउँ नहुँदा स्वीकृत पाएको ३०० शय्या पुरै सञ्चालनमा ल्याउन सकेका छैनौ । पूर्वाधार भए मेडिकल कलेज सञ्चालन गर्न सक्छौँ । ठाउँ नहुँदा भक्तपरको लागि ल्याउन लागेको क्याथ ल्याब हटौडा पुग्यो । ठाउँको व्यबस्थापनका लागि स्थानीय सरकारको सहयोग आवश्यक छ ।’
कार्यक्रममा वागमति प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठले सि.टि.स्क्यान लगायत भिडियो एक्सरे र अन्य उपकरण २४ सै घण्टा सञ्चालन गर्नु औल्याउँदै सुविधा सम्पन्न भवन निर्माणका लागि कसैले राजनीति नगरी विकासमा एकमत भएर अगाडि लाग्न आव्हान गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमुख्य मन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले देशकै माइलो अस्पतालमा बल्ल सिटि स्क्यान जडान गर्न पाउँदा खुसी लागेको बताउदै स्वास्थ्य उपकरण खरिदका लागि बजेट पार्न नै निकै कठिन हुने, मन्त्रालयमा बजेट तानातान हुने अबस्थामा यसका लागि बजेट पार्न सफल भएको स्मरण गर्दै अस्पताललाई ३०० शय्यमा बिस्तारका लागि स्वीकृत प्रदान गरेकाले अब मेडिकल कलेज सञ्चालनको तयारीमा जानु पर्ने बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अस्पतालले उपकरण थप गरेसंगै सेवाग्राहीले सहज रुपमा गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने र रिफर भएर अन्त जानु पर्ने अबस्थाको सृजना नहुने गरि विश्वसनीय ढंगले सेवा प्रवाह गर्नु पर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले यो अस्पतालबाट भक्तपुरवासीले मात्रै नभई पूर्वका जिल्लाहरुबाट आउने विरामीको उपचारको पहिलाृ गन्तव्य भक्तपुर अस्पताल बन्नु पर्ने गरि उपकरणदेखि सेवामा विस्तार गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालको प्रगति अझै बाँकी रहेको भन्दै आवश्यकता अनुसार अस्पतालले बिभिन्न सेवा सञ्चालन गरेको टहरा हटाएर अत्याधुनिक भवन निर्माणका सरकारले बजेट व्यबस्थापन गरे अरु कार्यका लागि नगरपालिकाले सहजीकरा गर्न तयार भएको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष रमण कायस्थले भक्तपर अस्पतालमा मुटु र न्यूरो सेवा पनि थप गर्दै यसका लागि भक्तपुरका विरामी काठमाडौं धाउनु पर्ने अबस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्दै अस्पतालमा अझै विविध सेवा थप्न बाँकी नै रहेको, नयाँ भवनको आवश्यकता रहेको, न्युरो सेवा, आँखाको विविध सेवा, मिर्गौला बिरामीका लागि डायलोसिस सेवा, मुटुका बिरामीका लागि क्याथ ल्याव सेवालगायतका विविध सेवाहरु थप गर्दै जाने योजना रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशीजंग थापाले अस्पताल उपलब्ध उपकरणबाट २४ सै घण्टासेवा प्रवाह गर्ने बताउदै भक्तपुर अस्पतालमा काठमाडौं र बाहिरका जिल्लाबा उपचारका लागि आउने गरि स्वास्थ्यको हब बनाउन लागिपर्ने बताउनुभयो । उहाँले अस्पतालले नर्सिड कलेज सञ्चालनको तयारी गरेको बताउदै मेडिकल कलेज सञ्चालनका लागि ५० वर्ष पछिको भविश्यलाई सोचेर अत्याधुनिक भवन निर्माणमा लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष थापाले मन्त्री थापालाई आगामी आर्थिक वर्षका लागि अस्पतालले तयार पारेको नीति, कार्यक्रम तथा बजेट पुस्तिका हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सेवा निबृत्त कर्मचारीहरुलाई सम्मान गरि विदाई गरिएको थियो ।
-तस्विरहरु : रमेश गिरी