
भक्तपुर, ११ साउन : दिशामा हुने किटाणु कोलिफार्म भेटिएपछि बिक्री वितरणमा प्रतिबन्ध लगाएको चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित पाँचवटा पानी उद्योगले अटेर गरि खानेपानी बिक्री गरेको पाईएपछि नगरपालिकाले आज ती उद्योगहरुमा तालाबन्दी गरेको छ ।

प्रतिबन्ध लगाएको कम्पनीले पानी बिक्री गरिरहेको गुनासो गरेपछि आज नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नगरपालिकाकाको टोली, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिहरुको संयुक्त टोलीले अनुगमन गरी ती उद्योगहरूमा तालाबन्दी गरेको हो ।

आइतबार अनुगमन टोलीले अक्वा कर्णाली खानेपानी उद्योग, जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रा.ली., झौखेल खानेपानी उच्च वेभरेज प्रा.ली., एसएन टप वेभरेज प्रा.ली., ओके मिनिरल वाटर खानेपानी उद्योग, झौखेल खानेपानी उद्योगलाई अनुगमन टोलीले तालाबन्दी गरेको हो । पानी पिउन योग्य छ भनेर ल्याब परीक्षणको रिपोर्ट नआएसम्म बिक्रीमा रोक लगाएको पानी कम्पनीले त्यसलाई अटेर गर्दै पानी बिक्री गरेको र अरु कम्पनीको स्टिकर टाँसेर पानी बिक्री गरेको पाईए पछि तालाबन्दी गरेको बताउनुभयो ।

अनुगमनमा भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर प्रा.ली., इच्छा कामना वेभरेज प्रा.ली., हेरिटेज वेभरेज प्रा.ली लगायतको पनि अनुगमन गरि पानीको गुणस्तर जाँच गर्न पानीको नमना संकलन गर्नुका साथै स्थानीय तहमा दर्ता तथा नकिरण नगरेका पानी उद्योगहरुलाई एक साता भित्र दर्ता एवं नविकरण गर्न निर्दशन दिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो ।

चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालनमा रहेको केही खानेपानी उद्योगहरुले बिक्री वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानिकारक ईकोली, कोलिफार्म, एमोनिया (Ecoli & Coliform, Amonia) लगायतको तत्वहरु पाईएको थियो ।

नगरपालिकाको निर्देशनको अबज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने उहाँले बताउनुभयो । झौखेलमा २२ वटा पानी उद्योग मात्रै स्थानीय नगरपालिकामा दर्ता गरेपनि अन्य धरैले दर्ता तथा नविकरण नगराएको पाइएकाले एक साता भित्रै सबै उद्योगलाई दर्ता एवं नविकरण गर्न निर्देशन दिएको छ । उपप्रमुख बुढाथोकीले पानी बन्द गर्ने कुनै नियत नभएको तर भक्तपुरलगायत काठमाडौं उपत्यकामा दैनिक हजारौ लिटर पानी बिक्री हुन ठाउँका पानी उद्योगले शुद्ध पानी मात्रै बिक्री गरुन भनेर गरेको अनुगमनमा लापर्वाही गर्ने उद्योगमा तालाबन्दी गरेको बताउनुभयो ।

उहाँले चाँगुनारायण नगरपालिकाको ल्याबमा पानी परीक्षण गरि बिहिबारसम्म आउने रिपोर्टमा पुन कोलिफार्म भेटिए तालाबन्दी गर्ने र शुद्ध भेटिए बिक्री गर्न अनुमति दिने बताउनुभयो । उद्योगीहरुका तर्फबाट नेपाल बोतल वाटर उद्योग संघका पूर्व अध्यक्ष राम सुवालले नगरपालिकाले अनुगमन गरेकोमा आपत्ति नरहेको बताउदै नगरपालिकाल पानी शुद्ध पार्नबारमा उद्योगी लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अनुगमन टोलीमा नगरपालिकाका तफबाट उपप्रमुख रमेश बुढाथोकी, सन्तोषी नेपाली, वडा नं. २ का वडाध्यक्ष सोम प्रधान, जिल्ला प्रशासन कार्यालय भक्तपुरका तर्फबाट यादव प्रसाद मिश्र, राष्ट्रिय उपभोक्ता मञ्चका तफबाट मनोज थापा, उद्योग वाणिज्य संघका तर्फबाट विश्वराम दुवाल, नगरपालिकाको वास शाखाबाट सुरेन्द्र लामिछाने, शारदा घिमिरे, नेपाल पत्रकार महासंघका अध्यष सुन्दर शिल्पकारलगायतका पत्रकार, नेपाल प्रहरी, नगर प्रहरीलगायतकाृ टोलीको सहभागिता रहको थियो ।

Related







