चाँगुनारायण, ६ भदौ । चाँगुनारायण नगरपालिकाले सामाजिक एकताको भवनालाई फुटाउने तथा धार्मिक आस्था माथि प्रहार गर्ने कुनै पनि प्रकारको कार्य नगर्न अपिल गरेको छ ।
आज नगरपालिकाका प्रमुख जीवन खत्रीले जारी गर्नु भएको अपिलमा चाँगुनारायण नगरपालिकालाई जोडेर सामाजिक भावना एवं धार्मिक आस्था माथि प्रहार गर्ने र नगरको शान्ति सुव्यबस्थामा खलल पुर्याउने कुनै पनि समाचार नलेख्न सार्वजनिक रुपमा अपिल गर्नु भएको हो ।
अपिलमा भनिएको छ, ‘सभ्य र सुसंस्कृत समाजको निर्माण गर्नु हामी सबैको उत्तरदायित्व हो भने कुनै पनि धार्मिक धरोहरमाथि गरिएको लापर्वाहीपूर्ण, मानहानीपूर्ण व्यवहार हामीलाई स्वीकार्य छैन ।’ सुन्दर संस्कृतिको धरोहर नीलबाराही मन्दिर हामी सबैको आस्था तथा विश्वासको धरोहर रहेको स्पष्ट पार्दै यस मन्दिरको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको मूल कर्तव्य रहेको अपिलमा उल्लेख गरिएको छ ।

चाँगुनारायण नगरपालिका भ्रमण वर्ष–२०८२ लाई भव्यताका साथ मनाउन तथा भ्रमण वर्षलाई सफलीभूत बनाउनका लागि यस नगरपालिका मात्रै नभई भक्तपुर जिल्लाका अरु तीन नगरपालिकाले पनि संयुक्त प्रयास गर्दै अहोरात्र खटिएको बताईएको छ ।
सनातनदेखिनै प्रसिद्ध धार्मिकस्थलको रुपमा नीलबाराही मन्दिरको अस्तित्व जीवित रहेको पुरातात्विक, धार्मिक मान्यता बोकेको यस सुन्दर स्थलको संरक्षण र यसको सम्बर्धन एवं प्रबर्धनका लागि नगरपालिका कुनै कसर नराखी अघि बढेको अवगत गराएको छ ।
विगत केही समय अगाडिदेखि नीलबाराही संरक्षणको नाममा सामाजिक अभियानमा जोडिएका तर स्वार्थ बोकेका व्यक्तिहरुले चाँगुनारायण नगरपालिका क्षेत्रको माटो लैजाने सन्दर्भमा नगरपालिकासंग भएको सरसल्लाह र छलफलका विषयलाई बेवास्ता गरि समुदायलाई नै गमराहमा राखी लक्ष्यहिन र आधारहीन कसरा सामाजिक सञ्जालमा सम्प्रेषण गरेकोमा यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
नेपाल सरकारले दिएको निर्देशन पालना गर्दै अनधिकृत रुपमा प्रयोग गरिरहेको अबस्थमा स्काईभेटर (जेसिभी)लाई नेपाल प्रहरीले नियन्त्रणमा लिई नगरपालिकामा बुझाएको अबस्थामा गैरकानूनी कार्य गरेकाले स्काईभेटर (जेसिभी) धनीसंग कानून बमोजिम तोकिएको बिगो असुल उपर गर्नु नगरपालिकाको दायित्व भएको अपिलमार्फत स्पष्ट पारेको छ । यस सम्बन्धमा नगरपालिकाको कुनै पनि कु–भावनामा नरहेको स्पष्ट पारेको छ ।
नगरपालिकाले सामाजिक एकताको भवनालाई फुटाउने तथा धार्मिक आस्था माथि प्रहार गर्ने कुनै पनि प्रकारको कार्य नगर्न अपिल गर्दै यस नगरपालिकालाई जोडेर सामाजिक भावना एवं धार्मिक आस्था माथि प्रहार गर्ने र नगरको शान्ति सुव्यबस्थामा खलल पुर्याउने कुनै पनि समाचार नलेख्न सार्वजनिक रुपमा अपिल गर्नु भएको हो ।


2 मिनेट