
भक्तपुर, ६ असोज ः ऊर्जा जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसंग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक धुलिखेल सडक खण्ड छिटो भन्दा छिटो निर्माण सम्पन्न गराईीदन माग गरेका छन् ।
आज सूर्यविनायक धुलिखेल सडक खण्डको मन्त्री घिसिङद्धारा अवलोकन गर्ने क्रममा जगाती र साँगा खण्डमा व्यवसायीहरुले दुर्घटना बढेको र व्यवसायी मारमा परेको भन्दै सडक छिटो निर्माण सम्पन्न गराउन माग गरेको हो ।

उद्योग वाणिज्य महासंघ भक्तपुरका महासचिव नविन प्रजापतिसहितको टोलीले मन्त्री घिसिङलाई नौ महिनादेखि सडकको काम रोकिदाँ दैनिक दुर्घटना बढेको, स्थानीय व्यवसायीहरुको व्यापार ठप्प भएको र स्थानीयलाई आवतजापतमा समेत समस्या परेको उहाँले बताउनुभयो ।
नेपाल यायाताय व्यवसायी राष्ट्रिय महासंघ मालबाहक तर्फको वर्गीय संयोजकसमेत रहेका प्रजापतिले सडक निर्माणको ठेक्का लिएको कम्पनीले लापर्वाही गरेको, वर्षामा समेत ठूला खाल्डोहरु जथाभावी छाडेको, सडकका बीचमा भएका खाल्डोमा ग्राईबलको सट्टामा ढुङ्गा ल्याएर हालिदिने गर्दा ज्यानै जाने दुर्घटना भएको बताउनुभयो ।

प्रजापतिले भन्नुभयो, “दुईदिन अगाडि मन्त्रालयमा गएर मन्त्रीलाई सडकको अबस्थाकाबारेमा जानकारी गराए पछि आजै मन्त्रीसहितको टोलीले सडकको अनुगमन गर्नु खुसीको कुरा हो । उहाँको चासो देख्दा अब सडक बन्नेमा विश्वस्त छौँ । उहाँले तत्काल खाल्डो पुर्ने र दशै लगत्तै तिब्र गतिमा काम गर्न निर्देशन दिनु भएको छ । यो हामी सबैका लागि खुसीको कुरा हो ।”
मन्त्री घिसिङले सूर्यविनायक–धुलिखेल सडक बिस्तार आयोजनाको प्रमुखलगायतसंग सडकको अबस्था र प्रगतिकाबारेमा जानकारी दिनु भएको थियो । उहाँले व्यवसायीलाई दशैं लगत्तै सडक निर्माणले तिब्रता पाउने बताउनुभयो । आयोजनाका इञ्जिनियर विवेक पान्डेले यस सडकको अझै पनि बिस्तृत र पूर्ण डिजाइन आउन नसकेको बताउदै बजेट अभावले नभई वर्षाका कारण सडक निर्माण सुस्ताएको जानकारी गराउनुभयो ।

उहाँले हालसम्म यस सडकको भौतिक प्रगति करिब ४५ प्रतिशत मात्र सम्पन्न भएको जानकारी गराउनु भएको थियो । भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशसहितको आयोजना टोलस्लाई मन्त्री घिसिङले तत्काल चाडबाडमा सहज बनाउन र कालो पत्र गर्न निर्देशन दिनु भएको जानकारी दिनुभयो ।
प्रजापतिले स्थानीय व्यवसायी र नागरिकले सडक निर्माण सम्पन्न गर्न व्यवसायी र स्थानीयको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यसका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मन्त्रीसहित आयोजनाका पदाधिकारी एवं निर्माण कम्पनीका सरोकारवालाहरु बसे छलफल गरि समस्या छ भने त्यसको पहिचान गरि समस्या समाधान गराउन व्यवसायीहश्र तयार रहेको बताउनुभयो ।
Related







