
भक्तपुर, १९ असोज : सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशिल समाज बस्ती यतिखेर पीडामा डुबेको छ । लाङटाङ घुम्न गएका आफ्ना तीन सन्तान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएको थाहा पाएपछि बस्ती मात्रै नभई बेपत्ताका परिवार यतिखेर पीडामा डुबेको छ ।
रोजगारीको सिलसिलामा विगत चार वर्षदेखि दुबईमा बस्दै आएकी २६ वर्षीया सनिता श्रेष्ठ असोज ९ गते मात्र यसवर्ष परिवारसंग दसैं मनाउन दुबहीबाट बिदा लिएर घर आउनु भएको थियो ।
रोट्रयाक क्लबको नेतृत्वमा दसैंको टीका सकेर २६ वर्षीया सनिता श्रेष्ठसंगै बहिनी २४ वर्षीया संस्कृति श्रेष्ठ र भाई २० वर्षीय किसन भन्ने चितलाल श्रेष्ठ १८ गते शनिवार दिउँसो करिब ५ बजे बेरिङ खोल्सा तर्ने क्रममा आएको पहिरोसंगैको लेदो पानीले बगाएर बेपत्ता भएपछि यतिखेर श्रेष्ठ परिवार पीडामा डुबेको बेपत्ता श्रेष्ठका काका केशव श्रेष्ठले जानकारी दिनुभयो ।
१६ गते दसैंको टीका लगाएर रमाइलो गरेको परिवार मध्ये १७ गते बिहान करिब पाँच बजे पाँच दिने यात्रामा लाङटाङ घुम्न गएका उनिहरुसंगै भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत यात्रा पुरा नगर्दै बेपत्ता भएका हुन् । उनीहरु बेपत्ता भएसंगै यात्रामा रहेका १६ जनाको टोली मध्ये १२ जना यतिखेर रसुवामै बिक्षिप्त बनेका छन् ।
पहिलो दिन भक्तपुरबाट बेक्बो, दोश्रो दिन बेम्बोबाट लाङटाङ, तेश्रो दिन लाङटाङबाट खानजिङ गोम्पा, चौथो दिन खानजिङ गोम्पाबाट कान्जिन रि र पाँचौदिन कान्जिन रिबाट भक्तपुर फर्कने गरि १७ गते बिहान भक्तपुरबाट गएको १६ जनाको टोली गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फको यात्रा तय गरेको थियो ।
श्रेष्ठका काका केशवले भन्नुभयो, “हामी हिजैदेखि सम्पर्कका लागि पटक पटक प्रयास गर्दा हिजो नै खबर आयो । यात्रामै रहेका टोली मध्येका अहिले बेम्बो होटलमा बसिरहेका चार जनासंग कुरा पनि भयो । उनीहरुका अनुसार खोल्छा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसंगैको लेदोमा पहिलोपटक सनिता बगिन र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन, फेरी उनलाई पनि बचाउन जादा भाई कृष्ण समेतलाई बगाएर अन्तिममा साथी रबिलाई पनि बगाएछ ।”
एकले अर्कालाई बचाउँन जाँदा चारै जना बेपत्ता भएको टोलीमै रहेका प्रतक्ष्यदर्शीले जानकारी दिएको उहाँले बताउनुभयो । शनिवार दिउँसो ४ बजेसम्म आमा छोरीको कुराकानी भइरहेको जानकारी दिदै उहाँले राती करब ८ बजे एक्कासी बेपत्ता भएको जानकारी आएपछि दाजुको घरमा गएर सम्पर्कको प्रयास गरिरहेको र रसुवाको प्रहरीसंग सम्पर्क गरेको बताउनुभयो ।
तीन सन्तान एकै पटक बेपत्ता भएपछि पिता कृष्णबहादुर श्रेष्ठ र आमा सरिता श्रेष्ठ गहिरो शोकमा हुनुहुन्छ । पाँच छोरी र एक छोरा रहेका श्रेष्ठ दम्पतीका तीन एक छोरा र दुई छोरी एकै पटक बेपत्ता भएपछि हिजैदेखि परिवार न भोक न निन्द्रा सबै छाडेर पीडामा डुबेको हो । उनीहरुको अवस्था अझै अज्ञात रहेकाले तिब्र रुपमा खोजी कार्य गरिदिन काका केशवले आग्रह गर्नुभयो । उनीहरुको अबस्था कस्तो छ भन्ने जानकारी परिवारले कुरिरहेको उहाँ बताउनु हुन्छ ।
यता भक्तपुर क्वाठण्डौंका बेपत्ता रबि श्रेष्ठका बुबा राजु श्रेष्ठले शनिवार ३ बजेसम्म छोरोको आमा बुद्धलक्ष्मीसंग कुराकान भइरहेको र होटलमा पुगेको जानकारी गराएको बताउनु हुन्छ । बिचमा फोन गर्दा सम्पर्क नभएको तर राती करिब ८ बजे एक्कासी सामाजिक सञ्जालमा बेपत्ता भएको खबर आएपछि रसुवा प्रहरीसंग सम्पर्क गरेर जानकारी लिएको उहाँले बताउनुभयो ।
रबि बेपत्ता भएको खबरसंगै उहाँका बृद्ध हजुरबुबा, हजुरआमा, आमा बुद्धलक्ष्मी, बहिनी रबिना र बुबा राजुको आँखा ओभाएको छैन भने खोजी गरेर सकुशल रहेको खबर सुन्ने आशामा सिंगो परिवार खबर कुरिरहेको छ । शुक्रबार बिहान करिब चार बजे साथीसंग घुम्न निस्केको छोरा बेपत्ता भएको खबरले शनिबार साँझदेखि श्रेष्ठका परिवार र आफन्तजन पीडामा छन् । छोराको छिटो खोजी गरिदिन रबिका बुबा राजु सरकारलाई आग्रह गर्नुहुन्छ ।
यसबारेमा जानकारी लिदाँ जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले बेपत्ताहरुको खोजीका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घट्नास्थल पुगेर बेपत्ताहरुको खोजी कार्य जारी राखेको जानकारी दिनुभयो ।
उहाँले नुवाकोटको सिमानासम्म खोज तथा उद्धार टोली परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको बिहानदेखि बेपत्ताको खोजीमा सुरक्षाकर्मी परिचालन भएको जानकारी दिनुभयो ।






